सुनवलको सगरमाथा होटलमा बासी खाना र फोहोर भान्सा, नसुधारेसम्म सञ्चालनमा रोक

सुनवलको सगरमाथा होटलमा बासी खाना र फोहोर भान्सा, नसुधारेसम्म सञ्चालनमा रोक
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ५, बुधबार ११:१५
सुनवलको सगरमाथा होटलमा बासी खाना र फोहोर भान्सा, नसुधारेसम्म सञ्चालनमा रोक

काठमाडौं : नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थित सगरमाथा होटलमा खाद्य स्वच्छता तथा सरसफाइको अवस्था कमजोर पाइएपछि सुधार नगरेसम्म होटल सञ्चालन नगर्न निर्देशन दिइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतका कार्यालयले गरेको अनुगमनका क्रममा होटलको भान्सामा बासी खानेकुरा भेटिनुका साथै खानेपानीको स्रोतसमेत फोहोर रहेको पाइएको हो।

ADVERTISEMENT

विभागको निर्देशनअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, कपिलवस्तुबाट खटिएको टोलीले अनुगमन गर्दा विभिन्न कैफियत फेला पारेको थियो।

विभागका अनुसार होटलमा खानामा प्रयोग हुने काठ र फलामका टुक्रासमेत भेटिएका थिए। भान्साको सरसफाइ कमजोर रहेको, आवश्यक सामग्री अव्यवस्थित रूपमा राखिएको र खानेपानीको स्रोत फोहोर ठाउँमा रहेको अनुगमन प्रतिवेदनमा उल्लेख छ।

अनुगमनका क्रममा होटल बन्द अवस्थामा रहेकाले सुनवल नगरपालिका–४ का वडाध्यक्षको पहलमा होटल खोलेर निरीक्षण गरिएको थियो। निरीक्षणपछि सञ्चालकलाई भान्सा पूर्ण रूपमा सफा गर्न, अनावश्यक सामग्री उचित ढङ्गले व्यवस्थापन गर्न तथा खानेपानीको स्रोत स्वच्छ राख्न निर्देशन दिइएको विभागले जनाएको छ।

विभागले तोकिएका सुधारका काम पूरा नभएसम्म होटल सञ्चालन नगर्न निर्देशन दिएको छ। साथै, निर्देशनअनुसार होटलको अवस्था सुधार गरी ३० दिनभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवा र सुनवल नगरपालिका–४ को वडा कार्यालयलाई जानकारी गराउन भनिएको छ।

यस प्रकरणमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ५, बुधबार ११:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !