विजयादशमीमा प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश : ‘भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौं’

विजयादशमीमा प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश : ‘भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौं’
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ५, बुधबार १०:५७
विजयादशमीमा प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश : ‘भ्रष्टाचार र कुशासन अन्त्य गर्न एकजुट बनौं’

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै नागरिकलाई एकजुट हुन आह्वान गरेका छन्।

विजयादशमीको शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

ADVERTISEMENT

उनले विजयादशमीले असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने उल्लेख गरेका छन्। पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको तथा भगवान् रामले रावणको अन्त्य गरेको स्मरण गर्दै उनले यस पर्वले सत्य र सत्कर्मको मार्गमा अघि बढ्न प्रेरणा दिने बताएका छन्।

प्रधानमन्त्री शाहका अनुसार विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्म गर्न र जीवनमा सफलता हासिल गर्न प्रेरित गर्छ। टाढा रहेका आफन्त तथा मान्यजनसँग भेटघाट गरी आशीर्वाद लिने संस्कृतिले पारिवारिक सम्बन्ध र आत्मीयतालाई थप प्रगाढ बनाउने उनको भनाइ छ।

मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले देशमा विद्यमान भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको बताएका छन्।

प्रत्येक नागरिकले राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्न सबै क्षेत्र र नागरिक एकजुट हुनुपर्ने उनले उल्लेख गरेका छन्। विकृति र विसंगति हटाउन इमानदार प्रयास, दृढ संकल्प र सामूहिक मेहनत आवश्यक पर्ने भन्दै उनले वास्तविक परिवर्तनका लागि सोचसँगै व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्ने बताएका छन्।

भौगोलिक, सांस्कृतिक र भाषिक विविधताले भरिएको नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न विजयादशमी महत्त्वपूर्ण पर्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सबैलाई आफ्नो क्षमता र परिस्थितिअनुसार पर्व मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र भ्रातृत्व साटासाट गर्न आह्वान गरेका छन्।

प्रकाशित मिति: २०८३ कार्तिक ५, बुधबार १०:५७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !