कैलालीबाट अछाम जाँदै गरेको मिनीबस सुर्खेतमा दुर्घटना, ९ जना घाइते

कैलालीबाट अछाम जाँदै गरेको मिनीबस सुर्खेतमा दुर्घटना, ९ जना घाइते
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ४, मंगलवार १४:४३
कैलालीबाट अछाम जाँदै गरेको मिनीबस सुर्खेतमा दुर्घटना, ९ जना घाइते

सुर्खेत : कैलालीको लम्कीबाट अछाम जाँदै गरेको मिनीबस सुर्खेतमा दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। पञ्चपुरी नगरपालिका–३, लगाम डाँडामोडमा कात्तिक ३ गते बिहान करिब १०ः३० बजे फोर्स गाडी अनियन्त्रित भएर सडकमा पल्टिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनालाई उपचारका लागि पञ्चपुरी आधारभूत अस्पताल लगिएको थियो। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको अवस्था सामान्य रहेको छ।

ADVERTISEMENT

दुर्घटनामा अछामको तुर्माखाँद गाउँपालिका–६ की २७ वर्षीया जीवनकला बयक, विनायक नगरपालिका–१ का २५ वर्षीय हेमन्त तिमल्सिना र कैलालीको लम्कीचुहा नगरपालिका–४ का २० वर्षीय गोपाल बोगटी घाइते भएका छन्। उनीहरूको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ। तिमल्सिनालाई थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा रिफर गरिएको छ।

त्यस्तै, दुर्घटनामा कैलालीका तीन वर्षीय समिर बादी, दैलेखको ठाटीकाँध गाउँपालिका–३ का ४१ वर्षीय बिर्ख टमटा र २० वर्षीया शारदा टमटा, अछामको कमलबजार नगरपालिका–७ का १५ वर्षीय निरज भण्डारी, विनायक नगरपालिका–८ का ३५ वर्षीय धिराज विक र कैलालीको लम्कीचुहा नगरपालिका–४ की २० वर्षीया शान्ति भण्डारी पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको छ।

गाडीमा सवार अन्य १० जना यात्रु बालबालिकासहित सकुशल रहेका छन्। उनीहरूलाई सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाडी अछामको विनायक नगरपालिका निवासी करिब ३५ वर्षीय विष्णु शाहीले चलाएका थिए। दुर्घटनापछि चालक फरार रहेकाले उनको खोजी भइरहेको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी सालकोट र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट ट्राफिकसहित प्रहरी टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलवार १४:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !