गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहायता

गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहायता
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ११, मंगलवार १२:००
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं : विश्वव्यापी खोप साझेदार संस्था ‘गाभी, द भ्याक्सिन एलायन्स’ले नेपालको राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता उपलब्ध गराउने भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको कूटनीतिक पहल र संवादपछि उक्त सहायता सुनिश्चित भएको जनाइएको छ। यस सहयोगले नेपालमा नियमित खोप कार्यक्रम सञ्चालन गर्न आवश्यक वित्तीय स्रोत व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

यसैगरी, गाभीले आर्थिक वर्ष २०१६/१७ देखि २०२१/२२ सम्मको नियमित खोप कार्यक्रमको लेखापरीक्षणका क्रममा प्रक्रियागत त्रुटि औँल्याउँदै नेपालबाट फिर्ता माग गरेको ३ लाख ८ हजार २७१ अमेरिकी डलर रकमसमेत मिनाहा गराउन पहल सफल भएको छ।

मन्त्री मेहताको पहलमा सहायता सुनिश्चित हुनु र उक्त रकम मिनाहा हुनुले नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई थप व्यवस्थित तथा दिगो बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

विश्वव्यापी रूपमा विकास सहायता र वित्तीय स्रोतमा दबाब बढिरहेका बेला नेपालले खोप कार्यक्रमका लागि ठूलो रकमको सहयोग सुनिश्चित गर्नु महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यस सहयोगले बालबालिका तथा खोप लगाउनुपर्ने लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्न, खोप सेवाको पहुँच विस्तार गर्न र नियमित खोप कार्यक्रमको निरन्तरता कायम राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। साथै, खोप सेवाको प्रभावकारिता अभिवृद्धि गर्दै सार्वजनिक स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउनसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलवार १२:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !