एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा, पीसीबीले दिएन एनओसी

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा, पीसीबीले दिएन एनओसी
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ११, मंगलवार ११:१३
एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा, पीसीबीले दिएन एनओसी

काठमाडौं : पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध नगराउँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पाकिस्तानी खेलाडीहरूको एनओसी अझै प्राप्त नभएको बताएका छन्।

अनलाइनखबरसँगको कुराकानीमा अध्यक्ष चन्दले पीसीबीले एनओसीका विषयमा कुनै प्रतिक्रिया नदिएको जानकारी दिए। एनओसीबिना पाकिस्तानी खेलाडीलाई प्रतियोगितामा सहभागी गराउन नसकिने उनको भनाइ छ।

ADVERTISEMENT

‘कसैले एनओसी दिएन भने हामीले जबर्जस्ती खेलाउन सक्दैनौँ,’ चन्दले भने, ‘अहिलेसम्म एनओसी आएको छैन।’

चन्दले पीसीबीको यस्तो कदमले सम्भावना बोकेका फ्रेन्चाइज क्रिकेट लिगलाई कमजोर बनाउने जोखिम रहेको टिप्पणी गरेका छन्। उनका अनुसार यसले अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका लागि गलत नजिर स्थापित गर्न सक्छ।

पीसीबीले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई एनओसी दिन थप २५ हजार अमेरिकी डलर मागेको बताइएको छ। यसपछि प्रतियोगितामा उनीहरूको सहभागिताबारे अनिश्चितता थपिएको हो।

एनपीएलका तीन फ्रेन्चाइज टोलीले पाकिस्तानी खेलाडीलाई अनुबन्ध गरेका थिए। कर्णाली याक्सले साहिबजादा फरहान र हुसेन तलतलाई टोलीमा समेटेको थियो। तर, फरहान स्वदेश फर्किसकेका छन् भने तलतले पनि प्रतियोगिता नखेल्ने भएका छन्।

त्यस्तै, जनकपुर बोल्ट्सले इफ्तिखार अहमद र हुनैन शाहलाई अनुबन्ध गरेको थियो। चितवन राइनोजले भने उसामा मिर, हसन अली र मोहम्मद नवाजलाई टोलीमा समावेश गरेको थियो।

पाकिस्तानी खेलाडीको सहभागिता अनिश्चित बनेपछि सम्बन्धित फ्रेन्चाइज टोलीलाई विदेशी खेलाडीको चार जनाको कोटा पूरा गर्नसमेत कठिनाइ हुने देखिएको छ। एनओसीको विषय टुंगो नलागेसम्म उनीहरूको सहभागिताबारे अन्योल कायमै रहनेछ।

प्रकाशित मिति: २०८३ कार्तिक ११, मंगलवार ११:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !