धनुषामा श्रीमतीको हत्या, श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला; चार वर्षीय छोरा घाइते

धनुषामा श्रीमतीको हत्या, श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला; चार वर्षीय छोरा घाइते
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ९, आईतवार १०:४६
धनुषामा श्रीमतीको हत्या, श्रीमान् झुण्डिएको अवस्थामा मृत फेला; चार वर्षीय छोरा घाइते

धनुषा : धनुषामा श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेको घटना सार्वजनिक भएको छ। श्रीमतीको हत्या र छोरामाथि आक्रमण गरेको आरोप लागेका श्रीमान् पछि झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। घटनामा उनीहरूका चार वर्षीय छोरा घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार गणेशमान चारनाथ नगरपालिका–४, भरतपुर निवासी ३५ वर्षीय उमेश यादव कात्तिक ७ गते राति करिब ९ बजे मिथिला बिहारी नगरपालिका–३, मिथिलेश्वरस्थित आफ्नो ससुराली पुगेका थिए।

ADVERTISEMENT

प्रहरीलाई कात्तिक ८ गते बिहान करिब १ः५० बजे उमेशले ३० वर्षीया श्रीमती रिना यादव र उनीहरूसँगै सुतिरहेका चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेको सूचना प्राप्त भएको थियो।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेशकुमार शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले रिनालाई घाँटीमा धारिलो हतियारको चोट लागेको अवस्थामा मृत फेला पारेको थियो। बालक सम्राटको दाहिने तिघ्रामा काटिएको चोट लागेको प्रहरीले जनाएको छ।

घाइते बालकलाई तत्काल स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराएर थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो। डीएसपी खनालका अनुसार बालकको अवस्था सामान्य रहेको छ।

घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कुसमेत बरामद गरेको जनाएको छ।

घटनापछि उमेश फरार भएका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ मा सिर्सिया जाने बाटोको दक्षिणपट्टि रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला पारेको थियो।

प्रहरीले रिनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ। पहिलो घटनास्थलको मुचुल्का सम्पन्न भइसकेको छ भने उमेशको शव फेला परेको दोस्रो घटनास्थलको मुचुल्का गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।

घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ९, आईतवार १०:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !