कञ्चनपुरमा एक महिनामै १७ जनाको आत्महत्या, १०० वटा अपराधका मुद्दा दर्ता

कञ्चनपुरमा एक महिनामै १७ जनाको आत्महत्या, १०० वटा अपराधका मुद्दा दर्ता
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ७, शुक्रबार १०:५४
कञ्चनपुरमा एक महिनामै १७ जनाको आत्महत्या, १०० वटा अपराधका मुद्दा दर्ता

कञ्चनपुर : कञ्चनपुरमा असोज महिनामा १७ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उक्त अवधिमा जिल्लाभर विभिन्न प्रकृतिका १०० वटा अपराधका मुद्दा दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार असोजमा आत्महत्याका १७, लागुऔषधका २१, ज्यानसम्बन्धी १०, सामाजिक अपराधका १३, चोरीका ६, महिला तथा बालबालिकासम्बन्धी ६ र सवारी ज्यानसम्बन्धी दुई मुद्दा दर्ता भएका छन्। अन्य प्रकृतिका १९ मुद्दा पनि दर्ता भएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

आत्महत्या गर्नेमा महिला र बालिकासमेत

प्रहरीका अनुसार आत्महत्या गर्नेमा आठ पुरुष, छ महिला र तीन बालिका छन्। तीमध्ये १५ जनाले झुन्डिएर र दुई जनाले विष सेवन गरेर ज्यान गुमाएका हुन्।

उमेर समूहका आधारमा १० देखि २० वर्षका चार, २१ देखि ३० वर्षका तीन, ३१ देखि ४० वर्षका दुई, ४१ देखि ५० वर्षका चार र ५० वर्षभन्दा माथिका चार जनाले आत्महत्या गरेका छन्।

लागुऔषधका २१ मुद्दा, ३४ जना पक्राउ

असोज महिनामा लागुऔषधसम्बन्धी २१ मुद्दा दर्ता हुँदा ३४ जना पक्राउ परेको प्रहरीले जनाएको छ। सो अवधिमा ८६.०७ ग्राम खैरो हेरोइन, १२६ एम्पुल फेनारगन र ६७ चक्की ट्रामाडोल बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ।

यसैगरी, घरेलु हिंसासम्बन्धी ३२ उजुरी परेका थिए। तीमध्ये २८ वटा उजुरीमा मिलापत्र भएको र चारवटा अदालत पठाइएको प्रहरीले जनाएको छ।

हराएका व्यक्तिसम्बन्धी ३४ वटा विवरण दर्ता भएकामा ३४ जना नै फेला परेको प्रहरीको तथ्याङ्क छ। हराउनेमा १८ महिला, छ बालक, नौ बालिका र एक ज्येष्ठ नागरिक रहेका छन्।

एक महिनामा ५४ सवारी दुर्घटना

प्रहरीको विवरणअनुसार असोज महिनामा कञ्चनपुरमा ५४ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा तीन जनाको मृत्यु भएको र ७६ जना घाइते भएका छन्। दुर्घटनामा ७६ वटा सवारीसाधन संलग्न थिए।

प्रहरीका अनुसार ४६ वटा दुर्घटना चालकको कारणले र आठवटा चौपायाका कारण भएका थिए।

शान्ति सुरक्षा र फैसला कार्यान्वयन

शान्ति सुरक्षा कायम गर्न प्रहरीले असोज महिनामा ३५ पटक विशेष प्रहरी परिचालन गरेको जनाएको छ। यस अवधिमा एक हजार ३०२ पटक पिकेट, १३२ पटक चेकिङ, ३७२ पटक ग्रामीण गस्ती, दुई पटक एलआरपी र १३० पटक एसआरपी परिचालन गरिएको थियो।

फैसला कार्यान्वयनका क्रममा प्रहरीले २३ जना प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरूबाट २० वर्ष एक महिना १९ दिन कैद भुक्तान गराउनुपर्ने तथा दुई लाख ६४ हजार ६६२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने विवरणमा उल्लेख छ।

त्यस्तै, सार्वजनिक चासोका पेन्डिङ मुद्दामध्ये १६ वटा फर्छ्योट भएका छन् भने ५५९ वटा मुद्दा अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ७, शुक्रबार १०:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !