चितवनमा दसैँमा सवारी दुर्घटना ७३ प्रतिशतले घट्यो

चितवनमा दसैँमा सवारी दुर्घटना ७३ प्रतिशतले घट्यो
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ९, आईतवार १०:३७
चितवनमा दसैँमा सवारी दुर्घटना ७३ प्रतिशतले घट्यो

चितवन : चितवनमा गत वर्षको तुलनामा यस वर्ष दसैँ अवधिमा सवारी दुर्घटना, दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार गत वर्षको दसैँ अवधिको तुलनामा यस वर्ष सवारी दुर्घटनाको सङ्ख्या करिब ७३ प्रतिशतले घटेको हो ।

ADVERTISEMENT

कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को दसैँ अवधिमा जिल्लामा ३३ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ५८ जना घाइते भएका थिए ।

चालु आर्थिक वर्ष २०८३/८४ को दसैँ अवधिमा भने नौ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

गत वर्षको तुलनामा यस वर्ष दुर्घटनाको सङ्ख्या २४ वटाले घटेको छ । त्यसैगरी, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७५ प्रतिशत र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले कमी आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले प्रविधिको प्रयोग, सवारी जाँचमा कडाइ, प्रभावकारी सुरक्षा व्यवस्था र ट्राफिक सचेतना अभियानका कारण दुर्घटना तथा मानवीय क्षति घटेको बताए ।

उनका अनुसार जिल्लाका प्रमुख स्थानमा जडान गरिएका सिसिटिभी क्यामेराबाट निगरानी गर्नु, ट्राफिक प्रहरीले बडी वर्न क्यामेरा प्रयोग गर्नु तथा मुख्य सडकखण्डमा नियमित र कडाइका साथ सवारी जाँच गर्नुले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ ।

त्यसैगरी, चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउनु र ट्राफिक नियमसम्बन्धी सचेतना अभिवृद्धि गर्नुलाई पनि दुर्घटना तथा मानवीय क्षति घट्नुका प्रमुख कारणका रूपमा लिइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०८३ कार्तिक ९, आईतवार १०:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !