कांग्रेस केन्द्रीय कार्यसमितिमा चिकित्सकहरूको उपस्थिति, सहमहामन्त्रीदेखि सदस्यसम्म निर्वाचित

कांग्रेस केन्द्रीय कार्यसमितिमा चिकित्सकहरूको उपस्थिति, सहमहामन्त्रीदेखि सदस्यसम्म निर्वाचित
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ३०, शुक्रबार १२:५६
कांग्रेस केन्द्रीय कार्यसमितिमा चिकित्सकहरूको उपस्थिति, सहमहामन्त्रीदेखि सदस्यसम्म निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमिति निर्वाचनमा चिकित्सा पेसामा आबद्ध सात जना चिकित्सक निर्वाचित भएका छन्। उनीहरू सहमहामन्त्रीदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा निर्वाचित भएका हुन्।

मतगणनाको प्रारम्भिक नतिजाअनुसार डा. फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित भएका छन्। उनी मुस्लिम क्लस्टरबाट सहमहामन्त्री बनेका हुन्।

ADVERTISEMENT

त्यस्तै, नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी र कैलालीका बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। दुवै जना पेसागत विषय विज्ञतर्फबाट केन्द्रीय सदस्य बनेका हुन्।

स्त्रीरोग विशेषज्ञ प्रा.डा. सीता पोखरेल पनि पेसागत विषय विज्ञतर्फबाटै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

नेपाल चिकित्सक संघका अर्का पूर्वअध्यक्ष डा. मुक्तिराम श्रेष्ठ खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। त्यस्तै, क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनी झा मधेश प्रदेशबाट केन्द्रीय सदस्य बनेका छन्।

निर्वाचन समितिका अनुसार स्तन क्यान्सर शल्यचिकित्सक डा. योशिका भट्टराई कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

कांग्रेसको केन्द्रीय कार्यसमितिमा चिकित्सकहरूको उपस्थिति बढेसँगै स्वास्थ्य क्षेत्रका मुद्दा र पेसागत सरोकारले पार्टीको नीति निर्माणमा थप स्थान पाउने अपेक्षा गरिएको छ।

यद्यपि, निर्वाचन समितिले सबै पदको अन्तिम मतपरिणाम औपचारिक रूपमा सार्वजनिक नगरेका कारण निर्वाचित चिकित्सकहरूको संख्या थप बढ्न सक्ने सम्भावना छ।

प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार १२:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !