कांग्रेसको मतगणना एक सातामै सकियो, दसैंलगत्तै गगन थापा टिमको शपथग्रहण

कांग्रेसको मतगणना एक सातामै सकियो, दसैंलगत्तै गगन थापा टिमको शपथग्रहण
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ३०, शुक्रबार ११:५२
कांग्रेसको मतगणना एक सातामै सकियो, दसैंलगत्तै गगन थापा टिमको शपथग्रहण

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ। मधेश र बागमती प्रदेशको अन्तिम नतिजा आएसँगै गत असोज २३ गते रातिदेखि सुरु भएको मतगणना प्रक्रिया टुंगिएको हो।

निर्वाचन समितिका अनुसार महाधिवेशनबाट गगनकुमार थापा भारी मतान्तरसहित पार्टी सभापतिमा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको प्रतिस्पर्धामा थापा नेतृत्वको समूहले विभिन्न पदमा सफलता हासिल गरेको छ।

ADVERTISEMENT

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा तथा उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, मधु आचार्य, पुष्पा भुसाल र विनोद चौधरी निर्वाचित भएका छन्। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला सङ्ग्रौला (पन्त) विजयी भएका छन्।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडित कोटाका केन्द्रीय सदस्यहरूको मतगणना बिहीबार राति नै सकिएको थियो।

सहमहामन्त्रीसहित खस–आर्य र थारू कोटाका खुला तथा महिला केन्द्रीय सदस्यहरूको मतगणना पनि राति अबेर सम्पन्न भएको उनले जानकारी दिए। सबै पदको मतपरिणाम रुजु गर्ने काम सकिएपछि औपचारिक रूपमा अन्तिम नतिजा घोषणा गर्ने तयारी गरिएको छ।

गत असोज २३ गते मतदान सकिएलगत्तै राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना सुरु गरिएको थियो। त्यसको नतिजा असोज २४ गते बिहान सार्वजनिक भएको थियो। सभापतिबाहेकका पदको मतगणना भने ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपीनगरमा गरिएको थियो।

यसपटक कांग्रेसको मतगणना अघिल्लो महाधिवेशनको तुलनामा निकै छिटो सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। तर, यसपटक ७ हजार ३९२ मतदाता र झन्डै १ लाख ६२ हजार मतपत्रको गणना एक सातामै सकिएको हो।

निर्वाचन समितिका अनुसार २४ भन्दा बढी समूह बनाएर दिनरात गणना गरिएकाले प्रक्रिया छिटो टुंगिएको हो। समितिले यसपटकको मतगणना अघिल्लो महाधिवेशनको तुलनामा दोब्बरभन्दा बढी गतिमा र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको दाबी गरेको छ।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैंलगत्तै आयोजना गर्ने तयारी गरिएको छ।

शपथग्रहणपछि बस्ने नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकले आगामी स्थानीय तह निर्वाचनको तयारी, चुनावी रणनीति र पार्टीको भावी कार्यदिशाबारे छलफल गर्ने नेताहरूले बताएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार ११:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !