सात दशक पुरानो कानुन फेरेर नेपाल प्रहरीलाई आधुनिक र व्यावसायिक बनाउँछौं : गृहमन्त्री गुरुङ

सात दशक पुरानो कानुन फेरेर नेपाल प्रहरीलाई आधुनिक र व्यावसायिक बनाउँछौं : गृहमन्त्री गुरुङ
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ३०, शुक्रबार ११:४६
सात दशक पुरानो कानुन फेरेर नेपाल प्रहरीलाई आधुनिक र व्यावसायिक बनाउँछौं : गृहमन्त्री गुरुङ

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक संगठनका रूपमा विकास गर्न सात दशक पुरानो प्रहरी ऐन प्रतिस्थापन गरी नयाँ कानुन ल्याउने तयारी भइरहेको बताएका छन्।

७१औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ कानुनमार्फत प्रहरी कर्मचारीको सेवा अवधि, वृत्ति विकास र सेवा सुविधामा ठोस सुधार गरिने बताए।

ADVERTISEMENT

नेपाल प्रहरीका लागि आवश्यक भौतिक पूर्वाधार र प्रविधिमा लगानी गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीको मूल्याङ्कन हाकिमलाई रिझाएको आधारमा नभई काम र नतिजाका आधारमा गरिने प्रणाली विकास गरिने बताए।

नयाँ कानुनले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न सहयोग गर्ने उनको भनाइ थियो। उनले आवास, स्वास्थ्यलगायतका आधारभूत सेवा सुविधा वृद्धि गर्नुका साथै सरुवा तथा बढुवा प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाइने जानकारी दिए। प्रहरी प्रशासनका सम्पूर्ण कामलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने प्रक्रिया पनि सुरु भइसकेको उनले बताए।

अवकाशप्राप्त सुरक्षाकर्मीको आत्मसम्मान संरक्षण गर्दै उनीहरूको अनुभव, ज्ञान र सीपलाई राज्यको हितमा उपयोग गर्ने नीति अघि बढाइएको गृहमन्त्री गुरुङले उल्लेख गरे।

विपद् उद्धारमा खटिने सुरक्षाकर्मीका लागि जोखिम भत्ता तथा खाजा खर्चको व्यवस्था गरिएको स्मरण गराउँदै उनले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणमार्फत प्रहरीको दरबन्दी थप गर्ने प्रस्ताव अघि बढाइएको जानकारी दिए।

नागरिकको बढ्दो अपेक्षा पूरा गर्न नेपाल प्रहरीले पनि सरकारको गति र भावनाअनुसार आफूलाई व्यावहारिक तथा व्यावसायिक रूपमा रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए।

भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै गृहमन्त्री गुरुङले अपराध नियन्त्रणमा कडा नीति अवलम्बन गर्न निर्देशन दिए। भीड नियन्त्रण तथा बल प्रयोग गर्दा आवश्यकता, आनुपातिकता र जवाफदेहिताका सिद्धान्तलाई कडाइका साथ पालना गर्नुपर्ने उनको भनाइ थियो।

अपराधको सञ्जाल अब कुनै निश्चित भौगोलिक सीमामा सीमित नरहेको उल्लेख गर्दै उनले नेपाल प्रहरीलाई अन्तरदेशीय अपराध नियन्त्रण र अनुसन्धान गर्न सक्षम निकायका रूपमा विकास गरिने बताए।

सीमापार अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्यलाई तीव्रता दिइएको जानकारी दिँदै उनले हालै भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठक तथा भारतीय समकक्षीसँगको छलफलमा सूचना आदानप्रदान र आधुनिक प्रविधिको प्रयोगमा जोड दिइएको बताए।

वि.सं. २०१२ मा प्रहरी ऐन जारी भएको ऐतिहासिक दिनको स्मरण गर्दै गृहमन्त्री गुरुङले प्रहरी दिवस संगठनको वार्षिक उत्सव मात्रै नभई ७१ वर्षको सेवा, त्याग र बलिदानको सम्मानसमेत भएको बताए। उनले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका सम्पूर्ण अमर प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

देशमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न र विपद् व्यवस्थापनमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उनले कठिन परिस्थितिमा पनि प्रहरी जनशक्तिले देखाएको साहस र समर्पणको उच्च मूल्याङ्कन गरिएको बताए।

रसुवाको भोटेकोशी, मनाङ, मुस्ताङ तथा बुढीगण्डकी क्षेत्रमा आएको भीषण बाढीका क्रममा सहकर्मी गुमाउँदा वा बेपत्ता हुँदा समेत विचलित नभई उद्धारमा खटिएका प्रहरी कर्मचारीको धैर्य, साहस र सेवाभाव प्रशंसनीय रहेको उनको भनाइ थियो।

प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार ११:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !