मधेश सरकारबाट एमालेका ४ मन्त्रीले दिए राजीनामा, समर्थन पनि फिर्ता

मधेश सरकारबाट एमालेका ४ मन्त्रीले दिए राजीनामा, समर्थन पनि फिर्ता
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ३०, शुक्रबार १४:४२
मधेश सरकारबाट एमालेका ४ मन्त्रीले दिए राजीनामा, समर्थन पनि फिर्ता

जनकपुरधाम : मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा (एमाले) का चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्।

एमाले मधेश प्रदेश संसदीय दलले शुक्रबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन्।

ADVERTISEMENT

राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री मो. समिर, खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा, श्रम तथा यातायातमन्त्री शारदा देवी थापा र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन्।

चारै मन्त्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्। राजीनामा पत्रमा एमालेको तर्फबाट सरकारमा रहेका आफूहरू सामूहिक रूपमा राजीनामा दिएको उल्लेख छ।

यसअघि एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश प्रमुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराएका थिए।

एमालेले विभिन्न राजनीतिक दलबीच भएको १५ बुँदे समझदारी कार्यान्वयन नभएको भन्दै समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको छ।

एमालेका अनुसार सरकार सञ्चालनमा दलहरूबीच समन्वय र सहकार्य गर्ने, सुशासन कायम गर्ने, विकास निर्माणलाई प्राथमिकता दिने, मन्त्रालय तथा मन्त्रीहरूको संख्या व्यवस्थापन गर्ने र विकास योजनाहरू खुला तथा प्रतिस्पर्धात्मक रूपमा सञ्चालन गर्ने विषयमा समझदारी भएको थियो।

तर, उक्त समझदारीअनुसार सरकार सञ्चालन तथा जनहितका काम प्रभावकारी रूपमा अघि बढ्न नसकेको एमालेको निष्कर्ष छ। समझदारी कार्यान्वयन नभएको विषयलाई गम्भीरतापूर्वक लिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको एमालेले जनाएको छ।

एमालेले समर्थन फिर्ता लिएसँगै पार्टीबाट सरकारमा सहभागी चार मन्त्रीको राजीनामाले मधेश प्रदेशको राजनीतिक समीकरणमा नयाँ परिस्थिति सिर्जना गरेको छ।

प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार १४:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !