प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं : प्रधानमन्त्री शाह

प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं : प्रधानमन्त्री शाह
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ३०, शुक्रबार १२:०५
प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्छौं : प्रधानमन्त्री शाह

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन्। प्रहरीको क्षमता अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।

७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्नुका साथै साइबर तथा वित्तीय अपराध नियन्त्रण र आधुनिक सुरक्षा प्रणालीको प्रयोगलाई प्राथमिकता दिइएको बताएका हुन्।

ADVERTISEMENT

प्रधानमन्त्रीको सन्देश प्रहरी महानिरीक्षक कार्कीले प्रहरी दिवसको कार्यक्रममा वाचन गरेका थिए।

‘नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम र पूर्वाधारका क्षेत्रमा अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ। प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बौद्धिकता एवं आधुनिक सुरक्षा प्रणालीको उपयोग बढाउने कार्यलाई प्राथमिकता दिइएको छ,’ सन्देशमा भनिएको छ।

प्रधानमन्त्री शाहले देशमा आन्तरिक शान्ति र सुरक्षा कायम गर्न नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन्। सङ्कटका बेला धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनमार्फत जनताको विश्वास कायम राख्नुपर्नेमा उनले जोड दिएका छन्।

त्यस्तै, प्रहरीको क्षमता अभिवृद्धि तथा संगठनलाई थप सक्षम बनाउन सहयोग गर्ने मित्रराष्ट्र र विकास साझेदारहरूप्रति प्रधानमन्त्री शाहले धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार १२:०५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !