देश अन्योल र अलमलको अवस्थामा छ : पूर्वराजा ज्ञानेन्द्र शाह

देश अन्योल र अलमलको अवस्थामा छ : पूर्वराजा ज्ञानेन्द्र शाह
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ३०, शुक्रबार १२:२५
देश अन्योल र अलमलको अवस्थामा छ : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं  : पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक तथा प्रशासनिक क्षेत्र अन्योल र अलमलको अवस्थामा रहेको टिप्पणी गरेका छन्।

बडादसैं २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देशको वर्तमान अवस्थाबारे प्रश्न उठाएका हुन्। उनले राज्य प्रणालीलाई कसरी अघि बढाउने, प्रजातान्त्रिक आधारलाई कसरी बलियो बनाउने र अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने सवाल अहिले उठिरहेको बताएका छन्।

ADVERTISEMENT

निर्मल निवासस्थित संवाद सचिवालयद्वारा जारी सन्देशमा पूर्वराजा शाहले प्राकृतिक विपद्का कारण नेपालीहरूले चाडपर्वका बेला पनि दुःख र पीडा भोग्नुपरेको उल्लेख गरेका छन्।

भदौमा भोटेकोशीमा आएको भीषण बाढी तथा असोजमा परेको अविरल वर्षा र बुढीगण्डकीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले प्रकृतिको सन्तुलन कायम राख्ने र संरक्षणमा जोड दिने नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।

‘प्रकृतिका नियमहरू न्यायसंगत छन् तर भयानक पनि। त्यहाँ कुनै कमजोर, करुणा हुँदैन। कारण र परिणामहरू अलग गर्न सकिँदैन र अनिवार्य छन्,’ सन्देशमा भनिएको छ।

प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी र सावधानी अपनाउनुपर्नेमा जोड दिँदै उनले क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा पीडित नागरिकको शीघ्र पुनःस्थापनालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

बाह्य सहयोग लिँदा नेपालको स्वाभिमान र स्थानीय परम्पराको संरक्षण हुने गरी कूटनीतिक चातुर्य अपनाउनुपर्ने उनको भनाइ छ।

पूर्वराजा शाहले नेपाल भूगोल मात्रै नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचानसमेत भएको उल्लेख गरेका छन्। कठिन परिस्थितिमा आपसी भाइचारा कायम राख्न, एक क्षेत्रका नागरिकको पीडामा अर्को क्षेत्रका नागरिकले साथ दिन र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्न उनले आह्वान गरेका छन्।

देशको वर्तमान अवस्थाबारे प्रश्न उठाउँदै उनले राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक तथा व्यावसायिक क्षेत्र किन अन्योलमा देखिएको छ भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।

‘यी सबैलाई सच्याएर, मिलाएर, प्रजातान्त्रिक विधि प्रक्रियालाई सुदृढ पार्दै विद्यमान विश्व परिवेश र भूराजनीतिको स्थितिमा हाम्रो राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ पार्नु जरुरी छ,’ सन्देशमा उल्लेख छ।

राज्य सञ्चालनमा नयाँ पुस्ता अघि बढिरहेको सन्दर्भ उल्लेख गर्दै उनले नयाँ पुस्ताले देशवासीको मुहारमा खुसी ल्याउने अपेक्षा व्यक्त गरेका छन्।

उनले नेपाली समाजमा करुणा, सद्भाव र देशभक्तिको भावना बलियो बनाउनुपर्नेमा जोड दिँदै विभाजित नभई एकताबद्ध, परनिर्भर नभई आत्मनिर्भर तथा कमजोर नभई सबल र सक्षम नेपाल निर्माण गर्न सबैलाई आह्वान गरेका छन्।

बडादसैंको अवसरमा नवदुर्गा भवानीले सबैलाई सत्य, न्याय र शक्तिको मार्गमा हिँड्ने सद्बुद्धि प्रदान गरून् भन्ने कामना गर्दै उनले नेपालीहरूमा दसैंको शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार १२:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !