रसुवा बाढीमा सोलुखुम्बुका एकै परिवारका तीनसहित पाँच जना सम्पर्कविहीन

रसुवा बाढीमा सोलुखुम्बुका एकै परिवारका तीनसहित पाँच जना सम्पर्कविहीन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १५, सोमबार १२:००
रसुवा बाढीमा सोलुखुम्बुका एकै परिवारका तीनसहित पाँच जना सम्पर्कविहीन

काठमाडौं : रसुवामा आएको विनाशकारी बाढीका कारण सोलुखुम्बुका एकै परिवारका तीन जना र दुई जना आफन्त गरी पाँच जना सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन व्यक्तिहरूको परिवारका सदस्य रन्जिता बुढाथोकी मगरका अनुसार उनका तीन जना दाजु तथा दुई जना आफन्तको अवस्था अझै अज्ञात छ।

ADVERTISEMENT

तीन जना दाजु र एक जना आफन्त भारतीय पर्यटकलाई लिएर तिब्बतस्थित कैलाश हिमाल यात्रामा गएका थिए। अर्का एक जना आफन्त भने चीन जानका लागि भिसा प्रक्रियामा रहेको परिवारले जनाएको छ।

परिवारका अनुसार, भिसा प्रक्रियाका लागि गएका ती आफन्तको अन्तिम लोकेसन टिमुरे क्षेत्रमा देखिएको थियो भने अन्य चार जनाको अन्तिम लोकेसन सीमा क्षेत्र आसपास देखिएको छ।

चार जना भदौ १ गते कैलाश हिमाल यात्राका लागि काठमाडौंबाट प्रस्थान गरेका थिए। रन्जिताका अनुसार भदौ १० गते बिहान करिब ८ बजेतिर उनीहरूसँग फोन सम्पर्क भएको थियो, तर राम्रोसँग कुरा हुन सकेन।

‘बाढी आएको थाहा पाएपछि निरन्तर फोन गर्‍यौँ, तर फोन उठेन। बिहान करिब ११ बजेतिरबाट मोबाइल पनि स्वीच अफ भयो,’ उनले भनिन्।

धेरै दिन बितिसक्दा पनि आफन्तको अवस्थाबारे कुनै जानकारी नआएको भन्दै उनले सम्पर्कविहीन व्यक्तिहरूको अवस्थाबारे राज्यले यथाशीघ्र जानकारी दिन आग्रह गरेकी छन्।

रन्जिताका अनुसार चीनतर्फबाट प्राप्त सम्पर्कविहीन व्यक्तिहरूको सूचीमा उनका तीन जना दाजु र एक जना आफन्तको नाम रहेको छ। तर, टिमुरे क्षेत्रमा अन्तिम लोकेसन देखिएका अर्का आफन्तको नाम उक्त सूचीमा छैन।

‘चीन साइटबाट आएको मिसिङ लिस्टमा तीन जना दाजु र एक जना आफन्तको नाम छ। तर, अर्को एक जना आफन्तको नाम छैन,’ उनले भनिन्।

भदौ १० गते रसुवाको गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीसँगै आएको गेग्रानका कारण भोटेकोशी नदीको बहाव एकाएक बढ्दा आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

बाढीले स्थानीय बस्ती र पूर्वाधारमा मात्रै नभई कैलाश हिमाल तथा मानसरोवर यात्रामा रहेका नेपाली र विदेशी पर्यटकलाई समेत प्रभावित बनाएको छ। रसुवा हुँदै चीनतर्फ यात्रा गरिरहेका कतिपय पर्यटक अझै सम्पर्कविहीन रहेको बताइएको छ।

सडक, पुल तथा सञ्चार संरचनामा क्षति पुगेकाले प्रभावित क्षेत्रसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको छ। प्रशासनले सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन गर्दै उद्धार तथा खोजी कार्य जारी रहेको जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार १२:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !