नेपालसम्बन्धी अमेरिकाको ट्राभल एड्भाइजरी अद्यावधिक : रसुवाको विपद् क्षेत्रमा नजान आग्रह

नेपालसम्बन्धी अमेरिकाको ट्राभल एड्भाइजरी अद्यावधिक : रसुवाको विपद् क्षेत्रमा नजान आग्रह
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १५, सोमबार १२:१४
नेपालसम्बन्धी अमेरिकाको ट्राभल एड्भाइजरी अद्यावधिक : रसुवाको विपद् क्षेत्रमा नजान आग्रह

काठमाडौं : अमेरिकी सरकारले नेपाल भ्रमणसम्बन्धी आफ्नो ट्राभल एड्भाइजरी अद्यावधिक गर्दै रसुवाको बाढी प्रभावित क्षेत्रमा कुनै पनि कारणले यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ।

अमेरिकी सरकारले रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाका आसपासको क्षेत्रलाई ‘लेभल–४ : यात्रा नगर्नुहोस्’ श्रेणीमा राखेको छ।

ADVERTISEMENT

अमेरिकी सरकारका अनुसार सन् २०२६ अगस्ट २६ मा आएको ठूलो बाढीपछि उक्त क्षेत्रमा सडक, यातायात तथा सञ्चार सेवा प्रभावित भएका छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धार र पुनर्स्थापना कार्य जारी रहेकाले जोखिम उच्च रहेको जनाइएको छ। थप बाढी तथा पहिरोको सम्भावनासमेत रहेको चेतावनी दिइएको छ।

प्रभावित क्षेत्रमा भोटेकोशी, त्रिशूली तथा नारायणी नदी आसपासका बस्तीसमेत समेटिएका छन्। नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रमा नजान अमेरिकी सरकारले सुझाव दिएको छ।

नेपाली अधिकारीले उद्धार वा सुरक्षित स्थानतर्फ जान दिएको निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ। हराइरहेका व्यक्तिको खोजीका लागि समेत प्रभावित क्षेत्रमा आफैं प्रवेश नगर्न र कुनै पनि कारणले त्यहाँ यात्रा नगर्न अमेरिकी नागरिकलाई चेतावनी दिइएको छ।

नेपालमा नागरिक अशान्तिको जोखिम

अमेरिकी सरकारले नेपाललाई समग्रमा भने ‘लेभल–२ : थप सावधानी अपनाउनुहोस्’ श्रेणीमा राखेको छ। यसको मुख्य कारण नागरिक अशान्तिको सम्भावित जोखिम रहेको जनाएको छ।

सन् २०२५ सेप्टेम्बरमा सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएको र सुरक्षा अवस्था स्थिर रहेको अमेरिकी मूल्यांकन छ। यद्यपि, विशेषगरी सहरी क्षेत्रमा प्रदर्शन तथा स्थानीय अशान्ति पुनः हुन सक्ने चेतावनी दिइएको छ।

प्रदर्शनहरू छोटो सूचनामै सुरु हुन सक्ने र केही अवस्थामा हिंसात्मक बन्न सक्ने भएकाले ठूलो भीड तथा प्रदर्शनबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

स्वास्थ्य तथा आपत्कालीन सेवा सीमित

अमेरिकी सरकारले नेपालमा नियमित तथा आकस्मिक स्वास्थ्य उपचार व्यवस्थापन गर्ने क्षमता सीमित रहेको जनाएको छ।

काठमाडौंका अस्पतालहरू देशका अन्य क्षेत्रको तुलनामा सामान्यतया राम्रो भए पनि अस्पतालमा भीडभाड हुने, आवश्यक उपकरण वा औषधिको अभाव हुन सक्ने तथा उपचारअघि नै भुक्तानी मागिन सक्ने उल्लेख गरिएको छ।

विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले नबेहोर्ने भएकाले आवश्यक औषधि आफैंसँग राख्न तथा चिकित्सकीय उद्धारसमेत समेटिएको यात्रा स्वास्थ्य बीमा गर्न अमेरिकी नागरिकलाई सुझाव दिइएको छ।

गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएमा उपचारका लागि अर्को देश जानुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसका लागि समेत तयार रहन भनिएको छ।

भूकम्प, बाढी र पहिरोको जोखिम

नेपालमा नियमित रूपमा भूकम्प, बाढी तथा पहिरोको जोखिम रहने अमेरिकी सरकारको भनाइ छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा कुनै पूर्वसूचनाबिना भूकम्प आउन सक्ने उल्लेख गरिएको छ।

विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा भारी वर्षाका कारण आकस्मिक बाढी तथा पहिरो जान सक्ने र त्यसले सडक अवरुद्ध हुनुका साथै भवनमा क्षति तथा उद्धार कार्यमा कठिनाइ उत्पन्न गर्न सक्ने चेतावनी दिइएको छ।

नेपाल यात्रा गर्ने निर्णय गरेमा अमेरिकी सरकारले आफ्ना नागरिकलाई अमेरिकी दूतावास वा वाणिज्य दूतावासबाट महत्त्वपूर्ण सूचना तथा आपत्कालीन अलर्ट प्राप्त गर्न स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम (STEP) मा दर्ता हुन र नेपालको सुरक्षा अवस्थासम्बन्धी रिपोर्ट नियमित रूपमा समीक्षा गर्न सुझाव दिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार १२:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !