धुन्चे जोड्ने भनिएको वैकल्पिक मार्ग हिँड्नै नसक्ने अवस्थामा, जंगलमै फसे सयौं सवारी

धुन्चे जोड्ने भनिएको वैकल्पिक मार्ग हिँड्नै नसक्ने अवस्थामा, जंगलमै फसे सयौं सवारी
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १५, सोमबार १२:०७
धुन्चे जोड्ने भनिएको वैकल्पिक मार्ग हिँड्नै नसक्ने अवस्थामा, जंगलमै फसे सयौं सवारी

लच्याङ (नुवाकोट) : बाढीका कारण त्रिशूली–वेत्रावती हुँदै जाने पासाङल्हामु राजमार्ग ध्वस्त भएपछि धुन्चे जोड्ने गरी सञ्चालनमा ल्याइएको भनिएको वैकल्पिक सडकसमेत हिँड्नै नसक्ने अवस्थामा पुगेको छ।

सरकारले टोखा–छहरे–गड्खारपुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान भएर धुन्चेसम्म चारचक्के साना सवारी सञ्चालन गर्न सकिने जनाएको थियो। तर, सडकको दुरावस्थाका कारण यात्रु तथा राहत सामग्री बोकेका सवारीसाधनले चरम सास्ती भोग्नुपरेको छ।

ADVERTISEMENT

ग्रामीण क्षेत्रमा पहिलेदेखि रहेको सडकलाई धुन्चेसम्म पुग्ने वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले बताएका थिए। तर, कच्ची सडकमा पहिरो र हिलोका कारण सवारीसाधन सञ्चालन निकै कठिन बनेको छ।

एकतर्फी तथा साँघुरो सडकमा दुवैतर्फबाट सवारीसाधन सञ्चालन हुँदा समस्या झनै बढेको छ। राहत तथा अत्यावश्यक सामग्री बोकेर गएका दर्जनौं सवारीसाधन आइतबार दिउँसोदेखि नै बाटोमै फसेका छन्।

पहिरो र हिलोका कारण रसुवाको नौकुण्ड गाउँपालिका–३ अन्तर्गत गिजेलको जंगल क्षेत्रमा एक सयभन्दा बढी सवारीसाधन फसेको जनाइएको छ।

आइतबार विदुरबाट कालिकास्थानतर्फ राहत सामग्री लिएर गएका एक चालकले आफूहरू सोमबार बिहान ९ बजेसम्म पनि जंगलमै रोकिएको बताए।

रसुवातर्फ यात्रा गरिरहेका पत्रकार मकर श्रेष्ठका अनुसार केही स्थानबाहेक सडकको अवस्था अत्यन्तै कष्टकर रहेको छ। विशेषगरी पुङखोला पार गरेपछि सडक झनै कठिन बनेको उनले बताए।

‘यो सडक हिँड्न निकै मुस्किल रहेछ। दर्जनौं सवारीसाधन फसेका छन्। हामी न अघि बढ्न सक्ने, न नुवाकोट फर्किन सक्ने जस्तो अवस्थामा छौं,’ उनले भने।

सडकको दयनीय अवस्थाबारे जानकारी पाएपछि राहत सामग्री लिएर गएका कतिपय सवारी तथा व्यक्तिहरू सूर्यगढी गाउँपालिका–१, लच्याङबाटै फर्किएका छन्।

पासाङल्हामु राजमार्ग बाढीका कारण अवरुद्ध भएपछि रसुवा र धुन्चेसँगको सडक सम्पर्क सहज बनाउन सरकारले वैकल्पिक मार्ग सञ्चालनमा ल्याएको जनाएको भए पनि सडकको अवस्थाका कारण राहत, उद्धार तथा आवतजावतमा समेत समस्या देखिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार १२:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !