राहत सामग्री र उपकरणसहित जनशक्ति बोकेर नेपाल आउँदै अस्ट्रेलियन एयरफोर्सको विमान

राहत सामग्री र उपकरणसहित जनशक्ति बोकेर नेपाल आउँदै अस्ट्रेलियन एयरफोर्सको विमान
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १५, सोमबार १२:३५
राहत सामग्री र उपकरणसहित जनशक्ति बोकेर नेपाल आउँदै अस्ट्रेलियन एयरफोर्सको विमान

काठमाडौं : अस्ट्रेलिया सरकारले नेपालमा आएको विनाशकारी बाढीपछि मानवीय सहायता तथा विपद् उद्धारका लागि आवश्यक राहत सामग्री, उपकरण र जनशक्ति पठाउने भएको छ।

भदौ १० गते आएको भोटेकोशी बाढीले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि अस्ट्रेलियाले रोयल अस्ट्रेलियन एयर फोर्सको विमानमार्फत केही दिनभित्र राहत सामग्री र आवश्यक जनशक्ति नेपाल पठाउन लागेको हो।

ADVERTISEMENT

अस्ट्रेलिया सरकारले रोयल अस्ट्रेलियन एयर फोर्सको सी–१७ए ग्लोबमास्टर थ्री विमानमार्फत उद्धार तथा राहत कार्यका लागि आवश्यक सामग्री, उपकरण र जनशक्ति नेपाल पठाउने जनाएको छ।

विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले अस्ट्रेलियाले थप ३० लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ।

यो सहायता अस्ट्रेलियाले नेपालका लागि घोषणा गरेको दोस्रो चरणको मानवीय सहयोग हो। यसअघि पनि अस्ट्रेलियाले बाढी प्रभावित क्षेत्रमा मानवीय सहायता उपलब्ध गराइसकेको थियो।

नेपालका प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाको काम जारी रहेका बेला अस्ट्रेलियाको थप सहायता र जनशक्ति नेपाल आउन लागेको हो।

बाढीपछि ४२ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको अस्ट्रेलियाको रक्षा मन्त्रालयले जनाएको छ। तर, नेपाल पर्यटन बोर्डले भने ३५ जना अस्ट्रेलियन पर्यटक सम्पर्कविहीन रहेको जनाएको छ। उनीहरूको अवस्था यकिन गर्न र उनीहरूका परिवार तथा आफन्तलाई आवश्यक सहयोग उपलब्ध गराउन अस्ट्रेलिया सरकारले नेपाली उद्धार टोलीसँगको समन्वयमा खोज्ने प्रयास गरिरहेको छ।

संकट व्यवस्थापन, कन्सुलर सेवा तथा अस्ट्रेलियन फेडरल पुलिस (एएफपी) का अधिकारीसहित १२ जना अस्ट्रेलियाली उद्धार तथा प्रतिक्रिया टोलीका सदस्य अहिले काठमाडौंमा रहेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। नेपाल सरकारले अस्ट्रेलिया सरकारसँग हाइजिन किट (सरसफाइ सामग्री) र सौर्य बत्ती लगायतका अत्यावश्यक आपत्कालीन सामग्री उपलब्ध गराउन अनुरोध गरेको रक्षा मन्त्रालयले जनाएको छ।

अस्ट्रेलियाको थप सहयोगअन्तर्गत २० लाख अस्ट्रेलियन डलर बराबरको रकम यस्ता सामग्री तथा अन्य मानवीय सहायता उपलब्ध गराउन छुट्याइएको बताइएको छ। उक्त सामग्री अस्ट्रेलियाबाट नेपाल ल्याउने प्रयत्न भइरहेको छ। रोयल अस्ट्रेलियन एयर फोर्स (आरएएफ) ले यी सहयोग सामग्रीमध्ये पहिलो खेप आगामी केही दिनमा क्विन्सल्यान्डबाट नेपाल ल्याउने तयारी गरिरहेको छ।

बाढीपछि अस्ट्रेलियाका सर्वसाधारणबाट मात्रै हालसम्म १४ लाख अस्ट्रेलियन डलर सहयोग संकलन भइसकेको बताइएको छ। यसलाई थप सहयोग गर्दै अस्ट्रेलिया सरकारले थप १० लाख अस्ट्रेलियन डलर उपलब्ध गराउने भएको छ।

यससँगै अस्ट्रेलिया सरकारको योगदान २० लाख अस्ट्रेलियन डलर पुग्ने बताइएको छ। उक्त रकम अस्ट्रेलियाली गैरसरकारी संस्थाका साझेदारमार्फत स्थानीय संस्थाहरूसँग सहकार्य गरी प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनःनिर्माणको काममा खर्च गरिनेछ।

थप सहयोगसहित भोटेकोसी बाढीका लागि अस्ट्रेलिया सरकारले उपलब्ध गराउने कुल मानवीय सहायता ८० लाख अस्ट्रेलियन डलर पुग्ने छ।

अस्ट्रेलिया सरकारले नेपाल सरकारसँग निरन्तर समन्वय र संवाद गरिरहेको र आगामी दिनमा थप सहयोग उपलब्ध गराउने अपेक्षा रहेको जनाएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार १२:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !