पार्टी छोडेर जानेहरूले जति बकवास गरे पनि हुन्छ : प्रचण्ड

पार्टी छोडेर जानेहरूले जति बकवास गरे पनि हुन्छ : प्रचण्ड
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार १७:३०
पार्टी छोडेर जानेहरूले जति बकवास गरे पनि हुन्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी छाडेर जानेहरूलाई आलोचना गर्ने अधिकार भए पनि त्यसले मुल पार्टीलाई फरक पार्ने नसक्ने बताएका छन्।

शनिबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौति’ विषयक विचार गोष्ठीमा सम्बोधन गर्दै उनले मुल नेतृत्व र पार्टीको संरचना जीवित रहेसम्म विचलित हुनेहरूको आलोचनाले कुनै असर नपार्ने बताए।

ADVERTISEMENT

प्रचण्डले भने, “मुल नेतृत्व र टिम जीवित रहँदासम्म बीचबीचमा उताउला भएर जानेहरूले जे बोल्दा पनि फरक पर्दैन। बकवास गर्न त छुट छ, लेनिनले पनि भन्नु भएको छ, जतिसुकै बकवास गरे पनि हुन्छ।”

माओवादी छाडेर छुट्टै पार्टी गठन गरेका मोहन बैद्य, डा. बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’ र नेत्रविक्रम चन्द ‘विप्लव’लगायत नेताले आफूविरुद्ध गर्दै आएको आलोचना लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

शान्ति सम्झौता बाध्यता भएको प्रचण्डको स्वीकारोक्ति

जनयुद्धको समीक्षा गर्दै प्रचण्डले क्रान्ति पूर्णरूपमा जितेर आउन नसकेको स्वीकार गरे। उनले शान्ति सम्झौता बाध्यता भएको भन्दै भने, “हामीले क्रान्ति जित्न सकेनौं। यदि पूरा जितेको भए माथिका तल र तलका माथि आउने अवस्थामा पुगिन्थ्यो। तर परिस्थिति त्यस्तो आयो कि सम्झौता नगरे क्रान्ति नै हारिने खतरा थियो।”

उनका अनुसार युद्धको कारण समाजका माथिल्लो जाति र वर्गले समेत तल्लो जाति र समुदायलाई सम्मान गर्नुपर्ने बाध्यता सिर्जना भएको थियो। “उत्पीडित समुदायलाई इज्जत गर्नुपर्ने अवस्था आएको थियो, त्यो युद्धकै उपलब्धि हो,” उनले जोड दिए।

प्रचण्डले सम्झौता कमजोरी नभई परिस्थिति अनुसारको बाध्यता भएको भन्दै कम्युनिस्ट नेताहरूले पनि सम्झौतावादी नभइकन सम्झौता गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरेका थिए।

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार १७:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !