नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ७, सोमबार १०:३७
नेपालमा लगानी बढाउन भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

नयाँदिल्ली : नेपाल र भारतबीच व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तार गर्ने उद्देश्यले नयाँदिल्लीमा आयोजित ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न भएको छ।

दुवै देशका उद्योगी, व्यवसायी तथा उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको मञ्चमा द्विपक्षीय व्यापार, लगानीका सम्भावना र आर्थिक साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल भएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भारतका वाणिज्य तथा उद्योग एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसाद, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, भारतीय उद्योग परिसंघका उपाध्यक्ष डा. विक्रमजित सिंह सहनी तथा लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की युक्याव शेर्पालगायतको उपस्थिति थियो।

ADVERTISEMENT

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाल सरकार सुशासन र आर्थिक सुधारका एजेन्डामार्फत दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको बताए।

उनले ऊर्जा, पर्यटन, कृषि, उत्पादन तथा डिजिटल अर्थतन्त्रका क्षेत्रमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गरे। भारतको यातायात तथा सूचना प्रविधि क्षेत्रको अनुभवबाट सिक्दै सहकार्य गर्न नेपाल तयार रहेको उनको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले भारतीय लगानीकर्तालाई नेपाली निजी क्षेत्रसँग सहकार्य गरी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने उद्योगहरूमा लगानी बढाउनसमेत आग्रह गरे।

त्यसैगरी, भारतीय राज्यमन्त्री जितिन प्रसादले पर्यटन, ऊर्जा, व्यापार तथा लगानीजस्ता पारस्परिक लाभका क्षेत्रमा साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिए। उनले नेपाल–भारत आर्थिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन दुवै देशबीच सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा दुवै देशका व्यावसायिक प्रतिनिधिहरूले आ–आफ्ना धारणा राख्दै लगानीका नयाँ अवसर र सम्भावनाबारे विचारविमर्श गरेका थिए।

दुई देशबीच विभिन्न क्षेत्रमा आर्थिक साझेदारी र द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले केही समझदारीपत्रमा समेत हस्ताक्षर भएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार १०:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !