प्रधानमन्त्री शाहको भारत भ्रमण : नेपालले २ अर्ब डलर सहयोग माग्ने, भारतले लगानी विस्तारमा जोड दिने

प्रधानमन्त्री शाहको भारत भ्रमण : नेपालले २ अर्ब डलर सहयोग माग्ने, भारतले लगानी विस्तारमा जोड दिने
मधेशपत्र मधेशपत्र २०८३ मंसिर ७, सोमबार ११:२६
प्रधानमन्त्री शाहको भारत भ्रमण : नेपालले २ अर्ब डलर सहयोग माग्ने, भारतले लगानी विस्तारमा जोड दिने

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने द्विपक्षीय वार्तामा आर्थिक सहयोग र लगानी विस्तार प्रमुख एजेन्डा बन्ने भएका छन्। वार्तामा नेपालले भारतसँग करिब २ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग माग्ने तयारी गरेको छ भने भारतले नेपालमा आफ्ना कम्पनीहरूको लगानी विस्तारका लागि थप अवसर खोज्ने भएको छ।

नेपाललाई पछिल्लो समय आर्थिक स्रोतको आवश्यकता बढ्दै गएको छ। गत भदौमा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्वासका लागि ठूलो लगानी आवश्यक परेको छ।

उक्त विपद्मा करिब १ हजार ५०० जनाको मृत्यु भएको थियो भने ५ हजार २०० भन्दा बढी मानिस बेपत्ता भएका थिए। बाढीपहिरोका कारण सडक, पुल, आवास तथा विद्युत् आयोजनामा समेत व्यापक क्षति पुगेको थियो।

ADVERTISEMENT

क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, प्रभावित नागरिकको पुनर्वास र अत्यावश्यक सेवा पुनः सञ्चालन गर्न नेपालले भारतसँग करिब २ अर्ब अमेरिकी डलर सहयोग माग्ने तयारी गरेको हो।

नेपालले उक्त रकम सहुलियतपूर्ण ऋण तथा आर्थिक सहयोगका रूपमा प्राप्त गर्न चाहेको छ। प्राप्त सहयोग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण र विभिन्न विकास आयोजनाको कार्यान्वयनमा खर्च गर्ने योजना रहेको छ।

यता भारतले पनि प्रधानमन्त्री शाहको भ्रमणलाई आर्थिक तथा व्यावसायिक सहकार्य विस्तारको अवसरका रूपमा लिएको छ। भारतले नेपालमा विद्युत्, सडक, स्वास्थ्य तथा डिजिटल पूर्वाधारसम्बन्धी आयोजनामा भारतीय कम्पनीहरूको लगानी बढाउन चाहेको छ।

यसका लागि दुवै देशबीच व्यापार, ऊर्जा, लगानी तथा अन्तरदेशीय सम्पर्क सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेर साझा योजनामा काम भइरहेको छ।

जलविद्युत् क्षेत्रमा नेपालसँग ठूलो सम्भावना रहेकाले भारतीय कम्पनीहरूको चासो पनि बढ्दै गएको छ। नेपालका विभिन्न जलविद्युत् आयोजनामा भारतीय कम्पनीहरूले यसअघि नै लगानी तथा निर्माणको काम गरिरहेका छन्।

भारतले ती आयोजनामा थप लगानी विस्तार गर्न चाहेको छ। यसबाट भारतीय कम्पनीहरूले नेपालमा नयाँ व्यावसायिक अवसर प्राप्त गर्नुका साथै भारतले नेपालबाट विद्युत् आयातसमेत बढाउन सक्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीचको वार्ताले दुई देशबीच आर्थिक सहकार्य, लगानी र ऊर्जा व्यापारलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ मंसिर ७, सोमबार ११:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !