दुई महिनापछि सप्तरीको कन्तलाल चौधरी हत्या काण्डको रहस्य खुल्यो, ९ जना पक्राउ

दुई महिनापछि सप्तरीको कन्तलाल चौधरी हत्या काण्डको रहस्य खुल्यो, ९ जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १९, सोमबार १७:५४
दुई महिनापछि सप्तरीको कन्तलाल चौधरी हत्या काण्डको रहस्य खुल्यो, ९ जना पक्राउ

राजविराज : दुई महिनाअघि सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा हत्या गरिएका कन्तलाल चौधरीको हत्यामा संलग्न रहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई सार्वजनिक गरेको हो। पक्राउ परेकाहरूमा सुरुङ्गा नगरपालिका–८ का २७ वर्षीय राजेश कुमार मरिक, २८ वर्षीय संजय मरिक, बोदे बर्साइन नगरपालिका–२ का २० वर्षीय दिपेन मरिक, खडक नगरपालिका–११ का ३४ वर्षीय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका–८ का २४ वर्षीय दिपक मरिक, उदयपुरको बेलका नगरपालिका–१ का २८ वर्षीय चन्दर मरिक, सुरुङ्गा नगरपालिका–७ का ३३ वर्षीय राजु कुमार बिक, लहान नगरपालिका–६ का ५२ वर्षीय महेन्द्र गोड्से र लहान–८ का ३८ वर्षीय उमेश साह सोनार छन्।

ADVERTISEMENT

प्रहरीका अनुसार जेठ २२ गते राति कन्तलाल चौधरीको हत्या गरेर उनीहरूको समूह फरार थियो। अनुसन्धानको क्रममा घटनामा संलग्न ९ जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

सप्तरीका प्रहरी प्रमुख एसपी गौतम केसीका अनुसार पक्राउ परेकाविरुद्ध डाँका तथा कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। ‘घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानमा उनीहरूकै संलग्नता देखिएको छ।’

पक्राउ परेकाहरूको साथबाट चौधरीको घरबाट लुटिएको गरगहना, एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने दुई राउन्ड गोली र एक थान खुकुरी समेत बरामद गरिएको प्रहरीको दाबी छ।

पत्रकार सम्मेलनमा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमा प्रसाद चतुर्वेदीसमेत सहभागी थिए। उनले हत्याको सफल अनुसन्धान गरी अभियुक्तहरू पक्राउ गर्न सफल प्रहरी टोलीलाई धन्यवाद दिएका थिए।

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार १७:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !