बीपी साहले थपे सबैलामा ३ हजार २ सय ४० नयाँ मतदाता

बीपी साहले थपे सबैलामा ३ हजार २ सय ४० नयाँ मतदाता
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ६, बिहीबार १५:२५
बीपी साहले थपे सबैलामा ३ हजार २ सय ४० नयाँ मतदाता

सबैला (धनुषा): अभियन्ता एवं सबैला नगरपालिकाका पूर्वमेयर उम्मेदवार बीपी साहको सक्रियतामा धनुषाको सबैला नगरपालिकामा ३ हजार २ सय ४० जना नयाँ मतदाता थपिएका छन्। “चुनावबाट परिवर्तन होइन, चुनावमै परिवर्तन” भन्ने मुख्य उद्देश्यका साथ उनले सञ्चालन गरेको अभियानमार्फत यति ठूलो सङ्ख्यामा नयाँ मतदाता थपिएका हुन्।

ADVERTISEMENT

“बीपी साह के अभियान, घरे स भोटर लिष्ट मे नाम” नाराका साथ ६ महिनासम्म सञ्चालन गरिएको यस अभियानअन्तर्गत साहको टोलीले सबैला नगरपालिकाका १३ वटै वडाका टोल-टोलमा पुगेर नामावली दर्ता गराएको थियो।

अभियानका क्रममा राष्ट्रिय परिचयपत्र बनिसकेका नागरिकहरूको मोबाइल प्रयोग गरी नामावली दर्ता गरिएको थियो। विशेष गरी वैदेशिक रोजगारीमा रहेका ६ सयभन्दा बढी युवाहरूलाई ह्वाट्सएप, इमोजस्ता सामाजिक सञ्जालमार्फत कागजात मगाएर मतदाता नामावलीमा समावेश गरिएको अभियान्ता साहले जानकारी दिए।

बीपी साहका अनुसार सबैला नगरपालिकामा अझै करिब ४ हजार योग्य नागरिक मतदाता नामावलीमा छुट्न पुगेका छन्। करिब २ हजार नागरिकको राष्ट्रिय परिचयपत्र नबनेकै कारण मतदाता सूचीमा नाम दर्ता गर्न नसकिएको र उनीहरूको विवरण सङ्कलन गरी राखिएको छ।

विवाह भई आएका नवविवाहित महिलाहरूको नागरिकता बन्न ढिलाइ हुँदा राष्ट्रिय परिचयपत्र र मतदाता नामावली दुवै बन्न नसकेको समस्या देखिएको छ।

सबैला नगरपालिकामै राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको व्यवस्था हुनुपर्ने माग राख्दै आफूले निरन्तर आन्दोलन गर्दै आएको स्मरण गराउँदै साहले भने, “यदि समयमै पालिकामै राष्ट्रिय परिचयपत्र बन्ने व्यवस्था भएको भए आज अझै धेरै नागरिकहरू आफ्नो मताधिकारबाट वञ्चित हुनुपर्ने थिएन।”

आगामी दिनमा छुट्न पुगेका योग्य नागरिकहरूलाई पनि मताधिकारको दायरामा ल्याउन आफ्नो प्रयास निरन्तर जारी रहने उनले प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति: २०८३ कार्तिक ६, बिहीबार १५:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !