दसैँ मनाउन पौने ६ लाखभन्दा बढीले छाडे काठमाडौं उपत्यका

दसैँ मनाउन पौने ६ लाखभन्दा बढीले छाडे काठमाडौं उपत्यका
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ४, मंगलवार ११:२५
दसैँ मनाउन पौने ६ लाखभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं : बडादसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजार ५७८ जनाले उपत्यका छाडिसकेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन्।

ADVERTISEMENT

दसैँ नजिकिएसँगै अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किन थालेका छन्। यससँगै उपत्यकाका प्रमुख नाकामा यात्रु तथा सवारीसाधनको चाप बढेको छ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्नेमा दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन्।

दसैँ मनाउन घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा चाप बढिरहेको उनले बताए।

उपत्यकाबाट बाहिरिने यात्रुको चाप नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकामा देखिएको छ। विभिन्न जिल्लातर्फ जाने यात्रु सार्वजनिक बस तथा अन्य सवारीसाधनमार्फत गन्तव्यतर्फ प्रस्थान गरिरहेका छन्।

चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न, सवारी आवागमन सहज बनाउन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको एसएसपी काफ्लेले जानकारी दिए।

उनका अनुसार सवारीसाधनको चाप व्यवस्थापन, यात्रुको सहज आवागमन र सम्भावित दुर्घटना रोक्न उपत्यकाका विभिन्न सडक तथा नाकामा निगरानी बढाइएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलवार ११:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !