लामो यात्रामा शौचालयको सास्ती, महिलालाई सधैं उही चिन्ता

लामो यात्रामा शौचालयको सास्ती, महिलालाई सधैं उही चिन्ता
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ३०, शुक्रबार ११:४१

काठमाडौं : दसैं मनाउन घर फर्किने तयारीमा रहेकी सीता खड्का (नाम परिवर्तन) को मनमा खुसीसँगै एउटा चिन्ता पनि छ। काठमाडौंमा बस्दै आएकी उनी दसैंको टीका लगाउन पोखरा जाँदैछिन्। लामो समयपछि परिवारसँग भेटघाट गर्ने र आफन्तसँग चाडपर्व मनाउने उत्साह त छ, तर लामो यात्राका क्रममा पिसाब लागेमा के गर्ने भन्ने प्रश्नले उनलाई सताइरहेको छ।

काठमाडौं–पोखरा यात्रा उनका लागि नौलो होइन। तर, बाटोमा शौचालय सहजै नपाइने समस्याले उनलाई हरेकपटक चिन्तित बनाउँछ। आपत् पर्दा भनेकै समयमा गाडी रोकिँदैन। रोकिए पनि शौचालय भेटिने निश्चित हुँदैन। भेटिए पनि फोहोर र असुरक्षित हुने भएकाले प्रयोग गर्न सहज हुँदैन।

ADVERTISEMENT

सीतालाई जस्तै सरिता कार्कीलाई पनि दसैंको यात्रामा शौचालयकै चिन्ता छ। सोलुखुम्बु जान उनले सुमोको टिकट काटिसकेकी छन्। घर पुग्ने र परिवारसँग दसैं मनाउने उत्साह भए पनि लामो सडक यात्रामा पिसाब लागेमा के गर्ने भन्ने चिन्ता उनलाई छ।

गत वर्षको दसैंमा पनि यात्राका क्रममा शौचालय जान नपाउँदा उनले सास्ती भोग्नुपरेको थियो। त्यसमाथि उनलाई पिसाबसम्बन्धी समस्या पनि छ। त्यसैले यसपटकको यात्रामा पनि उस्तै समस्या दोहोरिने हो कि भन्ने चिन्ता छ।

सीता र सरिताको यो समस्या लामो दूरीको सार्वजनिक यातायातमा यात्रा गर्ने धेरै महिलाको साझा अनुभव हो। यात्राका क्रममा शौचालयको सहज पहुँच नहुँदा महिलाले असहजता मात्रै होइन, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित चुनौतीसमेत सामना गर्नुपर्छ।

कतिपय ठाउँमा शौचालय नभएका कारण चालकले जंगल वा सडकछेउमा गाडी रोक्छन्। पुरुष यात्रु सडकछेउमै पिसाब फेर्न सक्छन्, तर महिलाका लागि त्यो सहज हुँदैन। गोपनीयता र सुरक्षाको चिन्ताले उनीहरू पिसाब च्यापेरै बस्न बाध्य हुन्छन्।

पिसाब लागेपछि लामो समय रोकिराख्नु उचित होइन

मूत्ररोग विशेषज्ञ डा. अनिल पुकार शाहले लामो यात्रापछि पिसाबसम्बन्धी समस्या लिएर अस्पताल पुग्ने महिलाका यस्ता समस्या देखेका छन्। उनका अनुसार लामो समयसम्म पिसाब रोकिराख्दा पिसाबथैलीमा असहजता र दुखाइ हुन सक्छ। त्यसैले सम्भव भएसम्म पिसाब लागेपछि फेर्नु उचित हुन्छ।

लामो यात्राका क्रममा शौचालय जान नपाउने समस्या र पिसाबसम्बन्धी असहजताले महिलालाई थप समस्यामा पार्न सक्ने उनी बताउँछन्। यस्तो अवस्थामा मूत्रमार्गको संक्रमण अर्थात् युरिनरी ट्र्याक्ट इन्फेक्सन (यूटीआई) को जोखिमबारे पनि सचेत हुन आवश्यक छ।

‘मिर्गौलाबाट बनेको पिसाब निरन्तर पिसाबथैलीमा जम्मा हुन्छ। पिसाबथैली भरिँदै जाँदा पिसाब फेर्नुपर्ने हुन्छ। तर, लामो सडक यात्रामा शौचालयको सुविधा नहुँदा यात्रुले पिसाब रोकिराख्नुपर्ने बाध्यता भोग्छन्,’ डा. शाह भन्छन्।

उनका अनुसार ब्याक्टेरियाका कारण हुने यूटीआईले मूत्र प्रणालीको विभिन्न भागलाई प्रभावित पार्न सक्छ। यद्यपि, पिसाब लामो समय रोकिराख्नु मात्रै यूटीआईको प्रत्यक्ष कारण होइन। यात्राका क्रममा शौचालयको अभावले महिलालाई थप असहज बनाउने भएकाले लामो दूरीका सडकमा शौचालयको सहज पहुँच आवश्यक रहेको उनको भनाइ छ।

मन्त्रालयको पहल, कार्यान्वयनको प्रतीक्षा

राजमार्गका विश्रामस्थलमा शौचालयको अभावले यात्रुले भोग्नुपरेको सास्तीलाई ध्यानमा राख्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले पहल थालेको छ।

मन्त्रालयले १९ असोजमा पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गर्दै देशभरका राजमार्गमा रहेका स्थायी तथा अस्थायी विश्रामस्थलमा सबैका लागि पहुँचयोग्य शौचालय र आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गरेको थियो।

निर्माण भइसकेका विश्रामस्थलमा शौचालयको सुविधा सुनिश्चित गर्न र शौचालय उपलब्ध भएका स्थानमा मात्रै सार्वजनिक सवारीसाधन रोक्ने व्यवस्था मिलाउन पनि मन्त्रालयले जोड दिएको छ।

तर, मन्त्रालयको पत्राचारले व्यवहारमा कस्तो परिणाम ल्याउँछ र यात्रुले कहिलेदेखि सहज रूपमा शौचालय प्रयोग गर्न पाउँछन् भन्ने अझै स्पष्ट छैन।

शौचालय बनाउनु मात्रै पर्याप्त छैन

राजमार्गका विश्रामस्थलमा शौचालय निर्माण गर्नु मात्रै पर्याप्त हुँदैन। ती सफा, सुरक्षित र सहज रूपमा प्रयोग गर्न मिल्ने हुनुपर्छ। महिला तथा बालबालिकाले मर्यादित रूपमा प्रयोग गर्न सक्ने, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि पहुँचयोग्य हुने तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकका आवश्यकतालाई समेत ध्यानमा राखेर पूर्वाधार निर्माण गर्न आवश्यक छ।

दसैंका बेला लामो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्छ। यस्तो समयमा शौचालयजस्ता आधारभूत सुविधाको अभावले यात्रुलाई थप सास्ती हुन्छ। विशेषगरी महिलाका लागि यो सहजताको विषय मात्रै नभई स्वास्थ्य, सुरक्षा र व्यक्तिगत मर्यादासँग जोडिएको सवाल पनि हो।

मन्त्रालयको पहलले राजमार्गका विश्रामस्थलमा शौचालयको पहुँच विस्तार गर्न कत्तिको सहयोग पुर्‍याउँछ भन्ने कुरा त्यसको प्रभावकारी कार्यान्वयनमा निर्भर हुनेछ। यात्रुले बाटोमा शौचालय खोज्दै सास्ती भोग्नुपर्ने अवस्था अन्त्य गर्न सरकारी पहलसँगै नियमित अनुगमन र सुविधाको उचित व्यवस्थापन पनि उत्तिकै आवश्यक छ।

प्रकाशित मिति: २०८३ आश्विन ३०, शुक्रबार ११:४१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !