मानबहादुर नेपालीलाई ३ हजार ६८३ मतले हराउँदै प्रकाश रसाइली सहमहामन्त्रीमा निर्वाचित

मानबहादुर नेपालीलाई ३ हजार ६८३ मतले हराउँदै प्रकाश रसाइली सहमहामन्त्रीमा निर्वाचित
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार १३:४९
मानबहादुर नेपालीलाई ३ हजार ६८३ मतले हराउँदै प्रकाश रसाइली सहमहामन्त्रीमा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसको दलित क्लस्टरतर्फ सहमहामन्त्री पदमा प्रकाश रसाइली ‘स्नेही’ निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनबाट उनी सहमहामन्त्रीमा दोहोरिन सफल भएका हुन्।

निर्वाचनमा रसाइलीले ४ हजार ८०३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२० मत मात्रै पाए। रसाइलीले नेपालीलाई ३ हजार ६८३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

ADVERTISEMENT

त्यस्तै, तेस्रो स्थानमा रहेका नरेन्द्र पासवानले ७७२ मत प्राप्त गरेका छन्।

यसअघि विशेष महाधिवेशनबाट पनि सहमहामन्त्री बनेका रसाइली बझाङको जयपृथ्वी नगरपालिका–१० का हुन्। उनी २०४८ सालदेखि राजनीतिमा सक्रिय छन्। विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका उनी क्रमशः कांग्रेसको मूलधारको राजनीतिमा स्थापित भएका हुन्।

रसाइली २०४८ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को विद्यालय सचिव बनेका थिए। २०६४ सालमा नेविसंघको केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुखको जिम्मेवारी सम्हालेका उनी राजनीतिक आन्दोलनका क्रममा पटकपटक गरी दुई महिना जेलसमेत बसेका थिए।

नेपाल दलित संघको केन्द्रीय महासचिवको जिम्मेवारी सम्हालिसकेका रसाइली २०७४ सालमा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका थिए।

कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका रसाइली अहिले सुदूरपश्चिम प्रदेशबाट पार्टीको एक्ला पदाधिकारी बनेका छन्।

प्रकाशित मिति: २०८३ आश्विन २९, बिहीबार १३:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !