अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानिजको सम्बोधन : ‘यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न’

अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानिजको सम्बोधन : ‘यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न’
मधेशपत्र मधेशपत्र २०८३ भाद्र २२, सोमबार १२:०८
अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्री अल्बानिजको सम्बोधन : ‘यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न’

काठमाडौं : अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल–चीनको तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजले विपद्को यस कठिन घडीमा नेपाल एक्लै नरहेको बताएका छन्। उनले बाढीमा परी ३६ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको जानकारीसमेत दिएका छन्।

ADVERTISEMENT

गत अगस्ट २६ मा हिमपहिरोपछि आएको बाढीले नेपाल र चीनको तिब्बततर्फ ठूलो क्षति पुर्‍याएको उल्लेख गर्दै उनले त्यसको सबैभन्दा ठूलो असर नेपालले व्यहोर्नुपरेको बताए।

‘धेरै मानिसले आफ्ना प्रियजन, घर, गाउँ र जीवनयापनका आधार गुमाएका छन्। हरेक बित्दो दिनसँगै बेपत्ता भएकाहरू भेटिने आशा चमत्कारजस्तै बन्दै गएको छ,’ उनले संसद्‌मा भने।

उनका अनुसार सम्पर्कविहीन ३६ जना अस्ट्रेलियाली नागरिकका परिवार र साथीभाइ अहिले गहिरो चिन्तामा छन्। ‘सम्पूर्ण अस्ट्रेलियाली जनताको ध्यान यतिबेला उनीहरूका परिवार र साथीभाइप्रति केन्द्रित छ,’ उनले भने।

नेपालले राष्ट्रिय शोक दिवस मनाइरहेका बेला प्रधानमन्त्री अल्बानिजले सामाजिक सञ्जालमार्फत समेत विपद्‌बाट प्रभावित नेपालीहरूप्रति सहानुभूति व्यक्त गरेका छन्।

उनले गत शुक्रबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गरी अस्ट्रेलिया सरकार र जनताको तर्फबाट गहिरो समवेदना व्यक्त गरेको संसद्‌लाई जानकारी गराए।

‘आज नेपालले राष्ट्रिय शोक मनाइरहँदा म हाम्रा नेपाली साथीहरूलाई भन्न चाहन्छु—यो दुःखको भारी बोक्न तपाईंहरू एक्लै हुनुहुन्न,’ अल्बानिजले भने।

नेपाली, तिब्बती र भारतीय समुदायसँग समन्वय

अस्ट्रेलिया सरकारले त्यहाँ रहेका नेपाली, तिब्बती तथा भारतीय समुदायसँग निरन्तर समन्वय र सहकार्य गरिरहेको पनि प्रधानमन्त्री अल्बानिजले जानकारी दिए।

उनले विपद्‌बाट प्रभावित परिवारलाई आशा नहार्न आग्रह गर्दै सम्पूर्ण अस्ट्रेलियाली नागरिकलाई उनीहरूका लागि प्रार्थना गर्नसमेत आग्रह गरे।

विपद् राहतका लागि सञ्चालन गरिएको आपत्कालीन राहत अपिलमा अस्ट्रेलियाली जनताले देखाएको उदारता र सहयोगको प्रशंसा गर्दै उनले यसले ठूलो विपद्को सामना गर्न अस्ट्रेलियाली समाज एकजुट रहेको सन्देश दिएको बताए।

‘यसले हामी जस्तोसुकै ठूलो विपद्को पनि एकजुट भएर र साझा मानवीय भावनाका साथ सामना गर्न सक्छौँ भन्ने शक्तिशाली सन्देश दिएको छ,’ उनले भने।

प्रकाशित मिति: २०८३ भाद्र २२, सोमबार १२:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !