रसुवागढीमा कोही नभेटिएको सरकारी दाबीमा आशंका, प्राविधिक भन्छन्- पावरहाउसभित्रै काम गरिरहेका तीन जना कहाँ हराए?

रसुवागढीमा कोही नभेटिएको सरकारी दाबीमा आशंका, प्राविधिक भन्छन्- पावरहाउसभित्रै काम गरिरहेका तीन जना कहाँ हराए?
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १५, सोमबार १४:३९
रसुवागढीमा कोही नभेटिएको सरकारी दाबीमा आशंका, प्राविधिक भन्छन्- पावरहाउसभित्रै काम गरिरहेका तीन जना कहाँ हराए?

काठमाडौं : रसुवागढी जलविद्युत् आयोजनाको सुरुङको अन्तिम विन्दूसम्म खोज्दा पनि मान्छे नभेटिएको भन्दै उद्धार टोली फर्किएकोमा जलविद्युत् प्राविधिकहरूले असन्तुष्टि जनाएका छन्।

सोमबार उद्धार टोली पर्याप्त स्रोत साधनबिनै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र प्रवेश गरेको थियो। तर, माटोको थुप्रो धेरै भएर अघि बढ्न नसकेपछि उनीहरू फर्किएका हुन्।

ADVERTISEMENT

तर, प्रधानमन्त्रीको कार्यालयले भने रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको दाबी गरेको छ। यसमा जलविद्युत् प्राविधिकहरूले उद्धारको कामप्रति प्रश्न उठाएका छन्।

जलविद्युत् क्षेत्रमा कार्यरत एक प्राविधिकले सञ्चालनमा रहेको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् गृह (पावरहाउस)मा कम्तीमा पनि तीन जना कर्मचारी काम गरिरहेकै अवस्थामा बाढी आएको जानकारी दिएका छन्। कन्ट्रोल रुममा पाल्पाका किशोर न्यौपाने, प्युठानका सन्तोष पौडेल र रसुवाका छिरिङ तामाङ काम गरिरहेका थिए।

‘पावरहाउसमा काम गरिरहेका कर्मचारी बाहिर भाग्ने अवस्था रहदैन,’ ती प्राविधिकले प्रश्न गरे, ‘पावरहाउसभित्रै थुनिएका कर्मचारीलाई उद्धार टोलीले कसरी भेट्न सकेन?’

विद्युत् गृहभित्र काम गरिरहेका तीनै जना बाढी आएपछि सम्पर्कविहीन छन्। उद्धार टोलीले काम गरिरहेका यी कुनै पनि कर्मचारीको अवस्था पत्ता लगाउन सकेन।

नाम उल्लेख नगर्ने सर्तमा रसुवागढी जलविद्युत् आयोजनाका प्राविधिकले विद्युत गृहमै नपुगी उद्धार टोली फर्किएको हुन कि भन्ने आशंका व्यक्त गरेका छन्।

‘मुखबाट मुख्य प्रवेश सुरुङको करिब ३०० मिटर दूरीमा पावरहाउस थियो। एक तलामाथि कन्ट्रोल रुम थियो। ऊर्जा उत्पादन गरिरहेकै आयोजना भएकाले त्यहाँ कम्तीमा पनि तीन जना त काम गरिरहेकै हुन्छन्,’ उनले नेपालखबरसँग भने, ‘कोही भेटिएन भन्दा त हामीलाई पत्याउनै गाह्रो परिरहेको छ। उद्धारकर्ताहरूले गम्भीर ढंगले सर्च गरेनन् भन्ने हामीलाई लागिरहेको छ।’

यस विषयमा थप छलफल गरेर विद्युत् प्राधिकरणमार्फत माथिल्लो निकायलाई ध्यानाकर्षण गराउने ती प्राविधिकले बताए।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंकापछि सेनासहित इन्जिनियर र ड्रोन टोलीले खोजी गर्दा कोही पनि नभेटिएको भन्दै उद्धारटोली रसुवाको धुन्चे फर्किसकेको छ।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा थियो। जहाँबाट भदौ १० गतेको विनासकारी भोटेकोसी बाढीपछि ९३ जना सम्पर्कविहीन छन्।

आइतबारबाट मात्रै यो आयोजनाबाट हराइरहेकाहरूको खोजी सुरु गरिएको थियो। शनिबारसम्म पनि उद्धारको काम सुरु भएकै थिएन। हराइरहेकामध्ये ४९ जना रसुवागढी हाइड्रोपावर कम्पनीका कर्मचारी छन्।

त्यस्तै, दुई जना ज्यालादारी कर्मचारी छन्। निर्माण कार्यमा खटिएका शेर्पा हाइड्रो कन्स्ट्रक्सनका ३५ जना छन्। सिडब्लूईका चार जना र भनस कन्स्ट्रक्सनका तीन जना सम्पर्कविहीन छन्।

भूमिगत डिसेन्डरमा फसेका ६ मध्ये चार जना दुई दिन लगाएर आफैं बाहिर निस्कन सफल भएका थिए। उनीहरूलाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेपछि काठमाडौं ल्याइसकिएको छ। यसमध्ये तीन जना भने सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए।

रसुवागढी हाइड्रोपावर कम्पनीले पनि दक्ष जनशक्ति र पर्याप्त उपकरणमार्फत खोजी गर्ने हो भने हराइरहेकाको उद्धार गर्न सकिने बताउँदै आएको छ।

प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार १४:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !