धनुषा–सिरहा जोड्न कमला नदिमा फेरि डुंगाकै भर

धनुषा–सिरहा जोड्न कमला नदिमा फेरि डुंगाकै भर
बिपीनकुमार यादव बिपीनकुमार यादव २०८३ जेष्ठ २९, शुक्रबार ०९:०३
धनुषा–सिरहा जोड्न कमला नदिमा फेरि डुंगाकै भर

जनकपुरधाम : हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीमा पुल नहुँदा सर्वसाधारण फेरि डुंगाको भरमा यात्रा गर्न बाध्य भएका छन्। वर्षायाम सुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि यात्रु, साइकल र मोटरसाइकल डुंगामार्फत वारपार गर्नुपर्ने अवस्था आएको हो।

स्थानीयका अनुसार डुंगाबाट मोटरसाइकल, साइकल तथा पैदल यात्रुहरूलाई नदी पार गराइँदै आएको छ। मोटरसाइकल र साइकल वारपार गराएबापत प्रतिगाडी एक सय रुपैयाँसम्म शुल्क लिने गरिएको छ।

ADVERTISEMENT

कमला नदीमाथिको पुरानो पुल भासिएर प्रयोगविहीन बनेको लामो समय बितिसकेको छ। पुलको पूर्वी भागबाट नदी बग्न थालेपछि वैकल्पिक व्यवस्था नहुँदा यात्रुहरू फेरि डुंगाको सहारा लिन बाध्य भएका हुन्।

हुलाकी राजमार्ग मधेशका जिल्लाहरूलाई जोड्ने अत्यन्त व्यस्त सडक मानिन्छ। तर यही सडकखण्डमा पर्ने कमला नदीमा सुरक्षित पुल नहुँदा स्थानीयवासी तथा यात्रुहरूले दैनिक सास्ती र जोखिम मोल्नुपरेको गुनासो गरेका छन्।

स्थानीयका अनुसार एउटा डुंगामा एकैपटक आठवटासम्म मोटरसाइकल र दर्जनौँ यात्रु चढाउने गरिएको छ। डुंगा जीर्ण अवस्थाको रहेको र क्षमताभन्दा बढी यात्रु तथा सवारीसाधन बोक्ने गरिएकाले दुर्घटनाको जोखिम बढेको उनीहरूको भनाइ छ।

एक यात्रुले स्थानीय प्रशासनले डुंगाको क्षमता निर्धारण गरी कति यात्रु र सवारीसाधन चढाउन पाइने भन्ने स्पष्ट मापदण्ड बनाउनुपर्ने बताए। उनले कमला नदीमा यात्रुहरूको सुरक्षाप्रति सम्बन्धित निकायको ध्यान नपुगेको भन्दै चिन्ता व्यक्त गरे।

‘यात्रुको अत्यधिक चाप हुने हुलाकी सडकमा पर्ने नदीमा अझै पुल नबन्नु विडम्बना हो,’ उनले भने, ‘केही दिनअघि युवाहरूले अनशन बसेपछि मधेश सरकारले नयाँ पुल निर्माण प्रक्रिया अघि बढाउने सहमति गरेको थियो। अब त्यो सहमति कार्यान्वयन गर्दै तत्काल निर्माण प्रक्रिया सुरु गर्नुपर्छ।’

यसैबीच, धनुषा र सिरहा जोड्ने कमला पुलको पुनर्निर्माण आर्थिक वर्ष २०८३/८४ को बजेटमा नसमेटिएपछि स्थानीयवासी थप चिन्तित बनेका छन्। पुल पुनर्निर्माणको विषय अहिले दुवै जिल्लामा चासो र बहसको विषय बनेको छ।

स्थानीयहरू बालेन सरकार गठनपछि कमला पुल पुनर्निर्माणको काम अघि बढ्ने अपेक्षामा थिए। तर चालु आर्थिक वर्षको बजेटमा पुल निर्माणका लागि रकम विनियोजन नभएपछि उनीहरू निराश बनेका छन्।

स्थानीयवासीहरू संघीय र मधेश प्रदेश सरकारले तत्काल चासो नदिए जनस्तरबाटै चन्दा संकलन गरेर भए पनि नयाँ पुल निर्माणको अभियान चलाउनुपर्ने अवस्था आउने चेतावनी दिन्छन्। उनीहरू कमला पुललाई केवल स्थानीय आवश्यकता नभई मधेशका दुई जिल्लालाई जोड्ने जीवनरेखा भएको बताउँदै यसको निर्माणमा ढिलाइ गर्न नहुने माग गरिरहेका छन्।

प्रकाशित मिति: २०८३ जेष्ठ २९, शुक्रबार ०९:०३
बिपीनकुमार यादव

बिपीनकुमार यादव

लेखक


तपाईको प्रतिक्रिया !