कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ४, मंगलवार १३:०८
कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

धनगढी : कैलालीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका, कैलारी गाउँपालिका र टीकापुरमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन्।

घोडाघोडी नगरपालिका–५ स्थित डोडा पुल नजिक सोमबार साँझ करिब साढे ८ बजे गोरुगाडा र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–५ का १६/१७ वर्षीय अमर सिंह ऐरले चलाएको गोरुगाडासँग धनगढी उपमहानगरपालिका–१७ का २९ वर्षीय विक्रम रानाले चलाएको से ८८ प ५१५६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो। दुर्घटनामा घाइते रानालाई उपचारका लागि धनगढी पठाइएकोमा राति १०:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

ADVERTISEMENT

त्यस्तै, कैलारी गाउँपालिका–७ स्थित रामपुरमा हुलाकी राजमार्गमा राति करिब साढे २ बजे मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २६ वर्षीय शिवलाल चौधरीको मृत्यु भएको छ। भजनी नगरपालिका–९ का ३० वर्षीय सञ्जय चौधरीले चलाएको नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार शिवलाल घाइते भएका थिए। घोडाघोडी अस्पताल सुखडमा उपचारपछि थप उपचारका लागि भारत लैजाने क्रममा उनको मृत्यु भएको जनाइएको छ।

यस्तै, टीकापुरमा मोटरसाइकलको ठक्करबाट ५३ वर्षीय लक्ष्मीराम थारूको मृत्यु भएको छ। सोमबार राति करिब १० बजे १९ वर्षीय आयुष चौधरीले चलाएको से ४ प ६५७९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा थारू गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलवार १३:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !