गाउँघरमा ‘चचहुई… चचहुई’को रौनक हराउँदै (फोटोकथा)

गाउँघरमा ‘चचहुई… चचहुई’को रौनक हराउँदै (फोटोकथा)
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ४, मंगलवार १४:३८
गाउँघरमा ‘चचहुई… चचहुई’को रौनक हराउँदै (फोटोकथा)

काभ्रे : कुनै समय बडादशैँ नजिकिँदै गर्दा गाउँघरका चौतारा, डाँडाकाँडा र खुला चौरमा लिङ्गे पिङ हाल्ने र खेल्ने चहलपहल बढ्थ्यो। बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्म पिङ खेल्न जुट्थे। पिङ मच्चिँदा गुञ्जिने ‘चचहुई… चचहुई’को आवाजले गाउँघरमा दशैँको रौनक थपिन्थ्यो। तर, बदलिँदो समयसँगै यो परम्परा पनि ओझेलमा पर्दै गएको छ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–स्थित चुरीथुम्कामा यस वर्ष दशैँको चहलपहलसँगै लिङ्गे पिङको रौनक भने हराउँदै गएको देखिन्छ। परम्परागत शैलीमा बाँस गाडेर बनाइएको लिङ्गे पिङ खेल्ने मानिसको प्रतीक्षामा सुनसान बनेको छ।

ADVERTISEMENT

विगतमा दशैँका बेला पिङ खेल्न घण्टौँसम्म पालो कुर्नुपर्ने अवस्था रहे पनि अहिले पिङ खेल्नेको सङ्ख्या निकै कम भएको स्थानीयवासी बताउँछन्। पहिले पिङमा मच्चिँदै रमाइलो गर्ने बालबालिका र युवायुवतीको भीड लाग्ने ठाउँमा अहिले सुनसान देखिन थालेको छ।

स्थानीयका अनुसार गाउँका युवापुस्ता वैदेशिक रोजगारी, उच्च शिक्षा र अवसरको खोजीमा सहर तथा विदेश जान थालेपछि यस्ता परम्परागत गतिविधिमा सहभागिता घटेको हो। गाउँमै रहेका बालबालिका तथा किशोरकिशोरी पनि परम्परागत खेलभन्दा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालमा बढी आकर्षित हुन थालेका छन्।

दशैँसँग जोडिएको लिङ्गे पिङ केवल मनोरञ्जनको साधन मात्र नभई आपसी भेटघाट, सद्भाव र सांस्कृतिक पहिचानको माध्यम पनि हो। यसको रौनक घट्दै जाँदा गाउँघरको मौलिक संस्कृति र पुरानो पुस्ताका सम्झनासमेत ओझेलमा पर्दै गएको स्थानीयवासीको चिन्ता छ।

प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलवार १४:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !