अफताव आलमका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा निर्वाचित

अफताव आलमका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा निर्वाचित
मधेशपत्र मधेशपत्र २०८३ आश्विन २९, बिहीबार १३:१४
अफताव आलमका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा निर्वाचित

काठमाडौं : नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमका छोरा मो. फिरदोस आलम पार्टीको सहमहामन्त्रीमा निर्वाचित भएका छन्। कांग्रेसको १५औँ महाधिवेशनबाट उनी मधेशी क्लस्टरतर्फ सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

नेपाली कांग्रेसले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत फिरदोसलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

ADVERTISEMENT

फिरदोस हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशबाट कांग्रेसका तर्फबाट निर्वाचित एक मात्र सांसद हुन्। उनी रौतहट–२ बाट २९ हजार ५२८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका थिए।

फिरदोसका पिता मोहम्मद अफताव आलम रौतहटबाट पटक–पटक निर्वाचित भएका कांग्रेसका पुराना नेता थिए। उनी २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोट र त्यसपछि भएको भनिएको हत्याकाण्डको घटनाका कारण चर्चामा आएका थिए।

उक्त प्रकरणमा रौतहट जिल्ला अदालतले २०८१ वैशाखमा आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। तर, २०८२ जेठमा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले प्रमाण पर्याप्त नभएको ठहर गर्दै उनलाई सफाइ दिएको थियो।

सफाइपछि जेलमुक्त भएका आलमको २०८२ कात्तिक २१ गते उपचारका क्रममा काठमाडौंमा ६३ वर्षको उमेरमा निधन भएको थियो।

पार्टीको सहमहामन्त्रीमा निर्वाचित भएसँगै फिरदोसले कांग्रेसको केन्द्रीय नेतृत्वमा जिम्मेवारी पाएका छन्।

प्रकाशित मिति: २०८३ आश्विन २९, बिहीबार १३:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !