मौसम खुलेसँगै अन्नपूर्ण आधार शिविरमा पर्यटकको चाप बढ्यो

मौसम खुलेसँगै अन्नपूर्ण आधार शिविरमा पर्यटकको चाप बढ्यो
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १९, सोमबार ११:१३
मौसम खुलेसँगै अन्नपूर्ण आधार शिविरमा पर्यटकको चाप बढ्यो

कास्की : मौसममा सुधार आएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबिसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या बढ्न थालेको छ। निरन्तरको वर्षा रोकिएपछि पदयात्रा मार्ग सहज बन्दै जाँदा पछिल्ला केही दिनयता एबिसी क्षेत्रमा पर्यटकको चाप बढेको हो।

अन्नपूर्ण क्षेत्रमा बाढीपहिरोका कारण अवरुद्ध सडक तथा पदमार्ग सञ्चालनमा आउन थालेपछि विदेशी पर्यटकको आगमन बढेको पर्यटन व्यवसायीहरूले बताएका छन्। मनाङ र मनास्लु क्षेत्रका केही पदयात्रा मार्ग अझै प्रभावित रहेकाले पर्यटकको गन्तव्य एबिसीतर्फ मोडिएको उनीहरूको भनाइ छ।

ADVERTISEMENT

छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक करिब ३०० पर्यटक अन्नपूर्ण आधार शिविर पुगिरहेका छन्। एबिसीमा रहेका ६ वटा होटल तथा लजमा एकपटकमा करिब ३५० पर्यटकलाई सेवा दिन सक्ने क्षमता रहेको छ।

गुरुङका अनुसार अहिले स्वदेशी पर्यटकको तुलनामा विदेशी तथा सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्या बढी छ। दसैँ सुरु भएपछि नेपाली पर्यटकको आगमन पनि बढ्ने अपेक्षा गरिएको उनले बताए।

यसअघि वर्षा, बाढी र पहिरोका कारण अन्नपूर्ण क्षेत्रका विभिन्न सडक तथा पदमार्ग प्रभावित हुँदा पर्यटन व्यवसायमा समेत असर परेको थियो। विशेषगरी बिरेठाँटी र स्याउली बजारमा मोदी खोलाको कटानका कारण लामो समय सडक अवरुद्ध भएको थियो। स्थानीय गाउँपालिकाको करिब डेढ महिनाको प्रयासपछि असोज पहिलो सातादेखि उक्त सडक सञ्चालनमा आएको हो।

अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार पोखरादेखि घान्द्रुक हुँदै एबिसीसम्मको सडक अहिले सञ्चालनमा आएको छ। कतिपय स्थानमा अस्थायी व्यवस्था गरेर पदमार्गसमेत सञ्चालनमा ल्याइएको उनले बताए।

उनका अनुसार नयाँपुल, घान्द्रुक र छोम्रोङ हुँदै एबिसी पुग्ने बाटो सहज बनेको छ। दुई महिनाअघि किम्रुङ खोलाले पक्की झोलुङ्गे पुल बगाएपछि अवरुद्ध भएको पदमार्गमा समेत काठको अस्थायी पुल निर्माण गरेर पदयात्रा पुनः सञ्चालन गरिएको छ।

समुद्री सतहबाट करिब ४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर विश्वकै चर्चित पदयात्रा गन्तव्यमा पर्छ। यहाँबाट अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ्रे, अन्नपूर्ण साउथ र अन्नपूर्ण प्रथमलगायतका हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ।

एबिसी पदयात्राका क्रममा पर्यटकले गुरुङ समुदायको संस्कृति, हिमाली जीवनशैली, हरियाली वन, झरना, खोलानाला तथा मनोरम हिमाली भू-दृश्यको अनुभव गर्न पाउँछन्।

पर्यटकको चाप बढेसँगै अन्नपूर्ण गाउँपालिकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै माछापुच्छ्रे बेस क्याम्पमा प्राथमिक उपचार केन्द्रसमेत सञ्चालनमा ल्याएको छ। केन्द्रबाट एबिसी तथा माछापुच्छ्रे बेस क्याम्प क्षेत्रमा पुग्ने पर्यटक र स्थानीयवासीलाई सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थामा तत्काल प्राथमिक उपचार सेवा उपलब्ध गराइनेछ।

यसअघि एबिसी पदयात्राका क्रममा उच्च उचाइका कारण लेक लाग्ने तथा अन्य स्वास्थ्य समस्या देखिने र कतिपय अवस्थामा पर्यटकको ज्यानसमेत जाने गरेका घटना छन्।

प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार ११:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !