कांग्रेस महाधिवेशनमा विश्वप्रकाशका १५ संकल्प

कांग्रेस महाधिवेशनमा विश्वप्रकाशका १५ संकल्प
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १९, सोमबार १०:२०
कांग्रेस महाधिवेशनमा विश्वप्रकाशका १५ संकल्प

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबारदेखि बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रमा पार्टीका उपसभापति विश्वप्रकाश शर्माले ‘लोकतान्त्रिक संस्कृतिमा क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ शीर्षकको प्रतिवेदन प्रस्तुत गर्दैछन्।

शर्माले प्रतिवेदनमार्फत कांग्रेसलाई लोकतान्त्रिक संस्कृतिको क्षयबाट मुक्त गर्दै पुनर्जागरणतर्फ अघि बढाउन १५ वटा सार्वजनिक संकल्प प्रस्ताव गरेका छन्।

ADVERTISEMENT

प्रतिवेदनमा कांग्रेसले व्यक्ति केन्द्रित राजनीति अन्त्य गर्ने, स्थायी गुटलाई संगठनको आधार नबनाउने र एउटै व्यक्तिले प्रभावका आधारमा पटक–पटक पद दोहोर्‍याउने प्रवृत्ति रोक्ने प्रतिबद्धता जनाएको छ।

त्यस्तै, अवसरअनुसार विचार र सिद्धान्त परिवर्तन नगर्ने, पहुँच तथा प्रभावका आधारमा उम्मेदवारीलाई प्राथमिकता नदिने र पार्टी नेतृत्व, सदस्य तथा समितिको अपारदर्शिता स्वीकार नगर्ने संकल्प गरिएको छ।

कांग्रेसले नागरिकको जनादेशलाई अहंकारमा परिणत नगर्ने तथा चुनावी घोषणापत्रलाई कार्यान्वयन नगरी थन्क्याउने दस्तावेजका रूपमा सीमित नगर्ने जनाएको छ। कानुनी प्रक्रियामा राजनीतिक संरक्षणको विकृति स्वीकार नगर्ने र सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने प्रतिबद्धता पनि प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी, सामाजिक सञ्जाललाई पार्टीभित्रको विवाद गर्ने थलो नबनाउने, योग्य युवालाई उमेरकै कारण नेतृत्वका लागि लामो समय प्रतीक्षा गर्न बाध्य नपार्ने तथा समावेशितालाई संख्यामा मात्र सीमित नगर्ने विषयलाई संकल्पमा समेटिएको छ।

योगदानको सम्मान गर्ने तर त्यसलाई मात्रै योग्यताको मापदण्ड नबनाउने र क्षणिक स्वार्थभन्दा पार्टी संस्था, विचार तथा लोकतान्त्रिक मूल्यलाई प्राथमिकता दिने संकल्पसमेत शर्माले अघि सारेका छन्।

शर्माको प्रतिवेदनमा प्रस्तुत १५ संकल्पमार्फत कांग्रेसभित्र देखिएका व्यक्ति केन्द्रित राजनीति, गुटबन्दी, नेतृत्व दोहोरिने प्रवृत्ति, अपारदर्शिता, राजनीतिक संरक्षण र युवाको नेतृत्वमा पहुँचजस्ता विषयलाई सुधारको प्रमुख एजेन्डा बनाइएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार १०:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !