डिल्लीबजार कारागारबाट भीआईपी कैदी धमाधम सारिँदै

डिल्लीबजार कारागारबाट भीआईपी कैदी धमाधम सारिँदै
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १९, सोमबार १०:५३
डिल्लीबजार कारागारबाट भीआईपी कैदी धमाधम सारिँदै

काठमाडौं : उच्च प्रोफाइलका कैदीबन्दीको रोजाइमा पर्ने डिल्लीबजार कारागारबाट पछिल्लो समय भीआईपी कैदीहरूलाई धमाधम अन्य कारागारमा सार्न थालिएको छ।

यसको पछिल्लो उदाहरण व्यवसायी दीपक भट्ट बनेका छन्। नख्खु कारागारमा रहेका भट्टलाई कारागार व्यवस्थापन विभागको पत्रपछि शनिबार सिन्धुपाल्चोक कारागार पठाइएको हो।

ADVERTISEMENT

भट्टमाथि सम्पत्ति शुद्धीकरण, बीमा ऐन र धितोपत्रसम्बन्धी कसुरमा मुद्दा चलिरहेको छ। काठमाडौं जिल्ला अदालतले बीमा ऐनसम्बन्धी कसुरमा १ करोड ५० लाख र धितोपत्रसम्बन्धी कसुरमा १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी कारागारमा रहँदै आएका छन्।

विशेष अदालतको आदेशपछि ३ असारमा भट्टसँगै शंकर ग्रुपका शुलभ अग्रवाल पनि कारागार चलान भएका थिए। भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ र अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ बिगो कायम गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको थियो।

दुवैलाई सुरुमा सुविधा सम्पन्न मानिने डिल्लीबजार कारागार पठाइएको थियो। पुर्पक्षका लागि कारागार चलान हुने उच्च पदस्थ तथा भीआईपीहरूले प्रायः डिल्लीबजारलाई रोज्ने गरेका छन्। कैदीबन्दीले आफ्ना कानुन व्यवसायीमार्फत आफूलाई डिल्लीबजार कारागार पठाउन आग्रह गर्ने गरेका छन्।

तर डिल्लीबजार पुगेको करिब १५ दिनमै भट्टलाई ललितपुरस्थित नख्खु कारागार सरुवा गरिएको थियो। २० असारमा उनलाई नख्खु पठाइएको हो। सोही समयमा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई पनि डिल्लीबजारबाट केन्द्रीय कारागार सुन्धारा सरुवा गरिएको थियो।

जेलरहरूका अनुसार अन्य कारागारमा कैदीबन्दीको चाप बढी हुने भएकाले डिल्लीबजार रोजाइमा पर्ने गरेको हुन सक्छ। डिल्लीबजारमा तुलनात्मक रूपमा खुला ठाउँ हुनुका साथै भेटघाटका लागि सहज र काठमाडौंको केन्द्रमा रहेकाले पनि उच्च प्रोफाइलका कैदीहरूका लागि यो कारागार आकर्षक मानिन्छ। यद्यपि कारागारमा उपलब्ध सुविधाहरू भने मूलतः समान रहेको उनीहरूको भनाइ छ।

डिल्लीबजारबाट कैदी सरुवा गरिएको यो पहिलो घटना भने होइन। यसअघि श्रीमती हत्याको मुद्दामा जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाले डिल्लीबजार कारागारमा ८ वर्ष ६ महिना बिताएका थिए। सर्वोच्च अदालतको आदेशपछि ८ साउन २०७७ मा उनी रिहा भएका थिए।

पछि उक्त आदेश उल्टिएर जिल्ला अदालतकै फैसला सदर भएपछि पक्राउ परेका कोइरालाले पुनः डिल्लीबजार कारागारमा राख्न आग्रह गरेका थिए। तर उनलाई सुन्धारा कारागार पठाइएको थियो।

डिल्लीबजारमा रहेका केही कैदीबन्दीको गतिविधि र सम्भावित चलखेलबारे प्रश्न उठेपछि पछिल्लो समय उच्च प्रोफाइलका कैदीलाई अन्य कारागारमा सार्ने क्रम बढेको बताइन्छ। भट्ट नख्खु हुँदै अहिले सिन्धुपाल्चोक पुगेका छन् भने प्रदीप अधिकारी सुन्धारा कारागारमा छन्।

विगतमा डिल्लीबजार कारागारमा पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वमन्त्री श्यामसुन्दर गुप्ता, खुमबहादुर खड्का, पूर्वसांसद बालकृष्ण ढुंगेल, पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, दुर्गा प्रसाईं र दीपक मनाङेलगायत बसेका थिए।

हाल पनि डिल्लीबजारमा केही उच्च प्रोफाइलका कैदी रहेका छन्। उनीहरूमा मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज, एमाले नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद इच्छाराज तामाङ, सुनिल पौडेल, विकल पौडेल तथा नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतमलगायत छन्।

प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार १०:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !