एसीसी प्रिमियर कप : मलेसियामाथि नेपालको ६ विकेटको सहज जित

एसीसी प्रिमियर कप : मलेसियामाथि नेपालको ६ विकेटको सहज जित
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १८, बिहीबार १२:२४
एसीसी प्रिमियर कप : मलेसियामाथि नेपालको ६ विकेटको सहज जित

काठमाडौं : एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको १०४ रनको सामान्य लक्ष्य नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालको जितमा अर्जुन कुमालले सर्वाधिक ४५ रनको योगदान दिए । उनले ६८ बलमा ४५ रन बनाए । इसान पाण्डेले २९ बलमा २० रन जोड्दा दीपेन्द्रसिंह ऐरीले ११ बलमा १२ रन बनाए ।

ADVERTISEMENT

त्यस्तै, कप्तान रोहित पौडेलले १६ बलमा १० तथा देव खनालले ७ बलमा २ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको थियो । मलेसियाका कप्तान सायिद अजिजले सर्वाधिक ३० रन बनाए । अकिल वाहिदले २४, भिरानदीप सिंहले १४ तथा स्याहादत रामिलले १३ रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपालका अनुभवी तीव्र गतिका बलर करण केसीले उत्कृष्ट बलिङ गर्दै मलेसियाको ब्याटिङ लाइनअप ध्वस्त पार्न महत्वपूर्ण भूमिका खेले । उनले ७.३ ओभरमा २ मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए ।

ललित राजवंशीले २ विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान १ विकेट हात पारे ।

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो । मलेसियाविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

प्रकाशित मिति: २०८३ भाद्र १८, बिहीबार १२:२४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !