गठबन्धन भत्किएपछि तेस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की

गठबन्धन भत्किएपछि तेस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ८, सोमबार १२:४७
गठबन्धन भत्किएपछि तेस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की

विराटनगर : नेपाली कांग्रेसले कोशी प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। यही बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रक्रिया अघि बढाइनेछ।

ADVERTISEMENT

विश्वासको मतका लागि प्रदेशसभामा कायम सदस्य संख्याको बहुमत आवश्यक पर्नेछ। सचिवालयका अनुसार विश्वासको मत प्राप्त गर्न मुख्यमन्त्री कार्कीलाई ४७ जना सांसदको समर्थन आवश्यक छ।

कोशी प्रदेशसभामा सभामुख अम्बरबहादुर विष्टसहित ९३ सदस्य छन्। तर, विश्वासको मतको प्रक्रियामा सभामुखको मत गणना नहुने भएकाले ९२ सांसदको मतलाई आधार मानिने सचिवालयले जनाएको छ।

प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीका गरी १७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुखसहित ५ र जनता समाजवादी पार्टीका १ सांसद छन्।

भदौ ३ गते कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएपछि एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता सहकार्य बनेको छ। दुवै दलका सांसदको संख्या ५७ पुग्छ। नयाँ सत्ता समीकरणअनुसार केही दिनअघि मन्त्रालयको जिम्मेवारीसमेत बाँडफाँट भइसकेको छ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभाको दोस्रो कार्यकालमा तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले वैशाख ३१ गते पहिलोपटक विश्वासको मत लिएका थिए। त्यसबेला प्रदेशसभामा उपस्थित ६२ सांसदमध्ये कार्कीको पक्षमा ५७ मत परेको थियो।

त्यसपछि तत्कालीन सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि कार्कीले २०८१ असोजमा दोस्रोपटक विश्वासको मत लिएका थिए। त्यतिबेला नेपाली कांग्रेस सरकारमा सहभागी भएको थियो।

असोज २ गते लिएको दोस्रो विश्वासको मतमा बैठकमा उपस्थित ८३ सांसदमध्ये कार्कीको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो।

अब कांग्रेस सरकारबाट बाहिरिएसँगै बदलिएको सत्ता समीकरणमा मुख्यमन्त्री कार्कीले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्। एमाले र नेकपाबीचको सहकार्यका कारण यसपटक उनलाई बहुमत जुटाउन सहज देखिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार १२:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !