दाम्पत्य प्रेम र सौभाग्यको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेम र सौभाग्यको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३०, शनिबार १०:३४
दाम्पत्य प्रेम र सौभाग्यको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

जनकपुरधाम : मिथिलाञ्चलका नवविवाहिता मिथिलानीले दाम्पत्य जीवन सुखमय र पतिपत्नीबीच प्रेम सम्बन्ध प्रगाढ होस् भन्ने कामनासहित आज मधुश्रावणी पर्व समापन गर्दैछन्।

मिथिलाञ्चलमा ‘मौनापञ्चमी’ का रूपमा मनाइने साउन कृष्ण पञ्चमीका दिनदेखि सुरु भएको मधुश्रावणी पर्व साउन शुक्ल तृतीयाका दिन विधिपूर्वक समापन गर्ने परम्परा छ। विवाह भएको पहिलो वर्ष नवविवाहिताले माइतीघरमा बसेर यो पर्व मनाउने चलन रहेको छ।

ADVERTISEMENT

पर्वका लागि आवश्यक पूजा सामग्री, खाद्यान्न, नयाँ वस्त्र तथा आभूषण पतिले माइतीघरमा पठाउने परम्परा छ। पर्व अवधिभर नवविवाहिता महिलाले भगवान् शिव, देवी गौरी (पार्वती) र विषहराको पूजा–आराधना गर्छन्।

मधुश्रावणीको महत्वपूर्ण विधिमध्ये ‘टेमी’ पनि एक हो। साउन शुक्ल द्वितीयाको राति व्रतालुले देब्रे घुँडामा कपासको बत्तीको लप्काले डाम्ने परम्परा छ। ‘टेमी’ दिएको स्थानमा फोका उठे पति–पत्नीबीचको प्रेम सम्बन्ध अझ गाढा हुने जनविश्वास छ।

यद्यपि पछिल्ला वर्षमा नयाँ पुस्ताका महिलाले टेमीका नाममा घुँडा डाम्ने परम्परालाई परिवर्तन गर्दै चन्दनको लेप लगाउन थालेका छन्। घुँडा डाम्नु र दाम्पत्य प्रेमबीच प्रत्यक्ष सम्बन्ध नरहेको भन्दै उनीहरूले पर्वको सांस्कृतिक पक्षलाई निरन्तरता दिँदै सुरक्षित विकल्प रोज्न थालेका हुन्।

पर्व अवधिभर व्रतालुहरू सखी–सहेलीसँग सामूहिक रूपमा गीत गाउँदै, हासपरिहास गर्दै ‘फूललोढी’ मा सहभागी हुन्छन्। साँझपख समूहमा फूल खोजेर ल्याउने र भोलिपल्ट त्यही फूल तथा बेलपत्रबाट शिव, गौरी र विषहराको पूजा गर्ने परम्परा छ। मधुश्रावणीमा बासी फूल चढाउने विशेष चलनसमेत रहेको छ।

पर्वमा बर्तालुलाई घरकी ज्येष्ठ महिलाले विभिन्न पौराणिक तथा धार्मिक कथा सुनाउने गर्छन्। मैना पञ्चमी, विषहरि, विहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीका कथाहरू मधुश्रावणीका प्रमुख कथावाचनमा पर्छन्।

मैथिली लोकसंस्कृतिका जानकार मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका उपप्राध्यापक मनोज झा मुक्तिका अनुसार मधुश्रावणीको मुख्य उद्देश्य पति–पत्नीबीच सुमधुर र प्रगाढ सम्बन्धको कामना गर्नु हो। उनका अनुसार पर्वले मैथिल समाजमा पारिवारिक सद्भाव र सांस्कृतिक निरन्तरतामा समेत योगदान पुर्‍याउँदै आएको छ।

पहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार समुदायका महिलाले मुख्य रूपमा मनाउने गरेको यो पर्व अहिले विभिन्न समुदायमा समेत फैलिँदै गएको छ। मिथिलामा विभिन्न भाषा, जाति र संस्कृतिका समुदायको मिश्रित बसोबास बढेसँगै मधुश्रावणी पनि साझा सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै गएको स्थानीय जानकारहरू बताउँछन्।

मधुश्रावणीसँग जोडिएको अर्को महत्वपूर्ण पक्ष माइतीघरमा हुने सामूहिक जमघट हो। विवाहपछि माइत आएका नवविवाहिताले सखी–सहेलीसँग भेटघाट गर्दै सामूहिक गीत, नाच, हासपरिहास र पूजा–आराधनामा सहभागी हुने भएकाले यो पर्वको विशेष प्रतीक्षा गर्ने गरेको पाका मिथिलानीहरू बताउँछन्।

पर्व समापनसँगै व्रतालुले १३ दिनसम्म पूजा गरेका बेलपत्र र फूललाई सङ्कलन गरी पवित्र नदी, पोखरी वा तलाउमा विसर्जन गर्ने परम्परा छ। यससँगै नवविवाहिताले पति–पत्नीबीच प्रेम, सुख, समृद्धि र अटल सौभाग्यको कामना गर्दै मधुश्रावणी पर्वको समापन गर्छन्।

प्रकाशित मिति: २०८३ श्रावण ३०, शनिबार १०:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !