मधेश प्रदेश : स्वास्थ्य निर्देशनालयमा कानुनअनुसार निर्देशक नियुक्तिको तयारी

मधेश प्रदेश : स्वास्थ्य निर्देशनालयमा कानुनअनुसार निर्देशक नियुक्तिको तयारी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन १४, बुधबार १४:४९
मधेश प्रदेश : स्वास्थ्य निर्देशनालयमा कानुनअनुसार निर्देशक नियुक्तिको तयारी

जनकपुरधाम : मधेश प्रदेश सरकार मातहतको स्वास्थ्य निर्देशनालयको स्वास्थ्य सेवाअन्तर्गत हेल्थ इन्सपेक्सन समूहको एघारौँ तहको निर्देशक पदमा काज, कायममुकायम र थप जिम्मेवारीका माध्यमबाट अन्य समूहका कर्मचारीलाई समेत जिम्मेवारी दिने अभ्यासमा अब विराम लाग्ने देखिएको छ । हेल्थ इन्सपेक्सन समूहकै एघारौँ तहमा बढुवा भएका डा. नवलकिशोर झालाई सोही पदमा पदस्थापन गर्ने तयारीसँगै स्वास्थ्य निर्देशनालयको निर्देशक पदमा सम्बन्धित समूहकै अधिकृतलाई जिम्मेवारी दिने व्यवस्था कार्यान्वयन हुने देखिएको छ ।

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य सेवाको हेल्थ इन्सपेक्सन समूहका अधिकृत एघारौँ तहमा बढुवा भएका डा. झालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा मातहतको रिक्त पदमा पदस्थापन गर्ने निर्णय गत भदौ २९ गते गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत हेल्थ इन्सपेक्सन समूहको एघारौँ तहको पद स्वास्थ्य निर्देशनालयको निर्देशक पद रहेकाले डा. झाको पदस्थापन स्वास्थ्य निर्देशनालयमै हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

ADVERTISEMENT

डा. झाको पदस्थापनमा ढिलाइ भइरहेका बेला प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले उनको पदस्थापनबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग परामर्श भइरहेको बताए । उनले प्रदेश निजामती सेवा ऐनअनुसार एघारौँ तहको पदस्थापन मन्त्रिपरिषद्को निर्णयका आधारमा हुने भएकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समन्वय गरिरहेको प्रस्ट्याए ।

तर, सचिव डा. यादवले मन्त्रिपरिषद्को निर्णयअनुसार पदस्थापनको प्रक्रिया अघि बढाउन पत्राचार भएकाले अब कुन प्रक्रियाबाट अघि बढ्ने भन्ने विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल भइरहेको जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सचिव पार्वती शर्माले डा. झा बढुवा भएको श्रेणी र सेवा–समूहअनुसारको दरबन्दीबारे सम्बन्धित मन्त्रालयलाई विस्तृत जानकारी हुने भएकाले मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा मातहतका निकायमा पदस्थापन गर्न भनिएको बताइन् । मन्त्रालयले सोहीअनुसार पदस्थापनको प्रक्रिया अघि बढाउन नसके मन्त्रालयसँग समन्वय गरी मन्त्रिपरिषद्बाटै उनलाई कुन निकायमा पदस्थापन गर्ने भन्ने निर्णय गरिने उनले जानकारी दिइन् ।

मधेश प्रदेश लोक सेवा आयोगका प्रकाशित सूचनाहरूमा स्वास्थ्य सेवाका एघारौँ तहका पदहरू समूहअनुसार छुट्टाछुट्टै रहेको देखिन्छ । स्वास्थ्य सेवामा हेल्थ इन्सपेक्सनलगायत विभिन्न समूहका पदहरू छुट्टाछुट्टै रूपमा कायम रहेको आयोगका विज्ञापन तथा सूचनाबाट प्रस्ट हुन्छ । त्यसैले एघारौँ तह हुँदैमा स्वास्थ्य सेवाभित्रका सबै समूह एउटै पदमा परिणत हुने अवस्था नदेखिएकाले कर्मचारी पदस्थापनमा सम्बन्धित समूहकै अधिकृतलाई जिम्मेवारी दिने विषयमा प्रदेशका उच्च अधिकारीहरू पल्लिोपटक सहमत रहेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. यादवले पनि कानुनसम्मत ढङ्गले कर्मचारी खटाउने अभ्यास उत्तम हुने टिप्पणी गरे । प्रदेश निजामती सेवा ऐन, २०७७ र नियमावली, २०७९ मा कर्मचारी व्यवस्थापनका लागि सरुवा, काज र कायममुकायमको छुट्टाछुट्टै व्यवस्था छन् । नियमावलीको नियम ४४(१)(क) ले एघारौँ र बाह्रौँ तहका विभागीय प्रमुख वा कार्यालय प्रमुखको पदमा प्रदेश सरकारले कायममुकायम मुकरर गर्न सक्ने व्यवस्था गरेको छ । तर, सो व्यवस्थामा कायममुकायम हुने कर्मचारीको मूल सेवा वा समूह परिवर्तन हुने कुरा उल्लेख गरिएको छैन ।

त्यसैगरी, ‘अतिरिक्त समूह’ मा कर्मचारी राख्न सकिने व्यवस्था भए पनि त्यसलाई अर्को सेवा–समूहको स्वीकृत दरबन्दीमा पदस्थापन गर्ने अधिकारका रूपमा स्वतः प्रयोग गर्न नमिल्ने जानकारहरूको भनाइ छ । अतिरिक्त समूहमा राख्ने र अर्को समूहको पदमा पदस्थापन गर्ने विषय फरक भएकाले त्यसका लागि छुट्टै कानुनी आधार आवश्यक पर्ने उनीहरूको तर्क छ ।

यसअघि भने प्रदेशमा फरक अभ्यास हुँदै आएको थियो । स्वास्थ्य निर्देशनालयको निर्देशक पद स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूहको एघारौँ तहको दरबन्दी भए पनि स्वास्थ्य शिक्षा समूहका एघारौँ तहका अधिकृत सरोजचन्द्र न्यौपानेलाई निर्देशकको जिम्मेवारी दिइएको थियो । उनी अहिले आफ्नो पदाधिकार रहेको प्रदेश स्वास्थ्य तालिम केन्द्रमा फिर्ता भएका छन् ।

पछिल्लो समय निर्देशक तथा कार्यालय प्रमुखको जिम्मेवारी दिँदा ‘थप जिम्मेवारी’ भन्ने शब्दसमेत प्रयोग हुँदै आएको छ । तर प्रदेश निजामती सेवा ऐन तथा नियमावलीले ‘थप जिम्मेवारी’लाई काज, सरुवा वा कायममुकायमसरह छुट्टै कर्मचारी व्यवस्थापनको विधिका रूपमा स्पष्ट रूपमा परिभाषित गरेको देखिँदैन । आफ्नो पदसँग सम्बन्धित अतिरिक्त कामको जिम्मेवारी दिनु र अर्को कार्यालयको प्रमुख वा निर्देशक पदको अधिकार नै प्रयोग गर्ने गरी जिम्मेवारी दिनु एउटै विषय नभएकाले यस्तो जिम्मेवारीको कानुनी आधारसमेत परीक्षणको विषय बन्न सक्ने ती जानकारहरूको भनाइ छ ।

प्रदेश सरकारले डा. झालाई स्वास्थ्य निर्देशनालयको निर्देशक पदमा पदस्थापन नगर्ने निर्णय गरेमा पनि उनलाई पदस्थापनविहीन राख्ने अवस्था रहँदैन । तर, हेल्थ इन्सपेक्सन समूहमा अहिले एघारौँ तहका अन्य अधिकृत नरहेको र पहिलोपटक एघारौँ तहमा बढुवा भएका डा. झाकै पदस्थापन हुने स्रोतहरूको भनाइ छ । डा.झालाई अर्को समूहको स्वीकृत दरबन्दीमा पदस्थापन गर्ने हो भने त्यसका लागि छुट्टै कानुनी आधार आवश्यक पर्ने जानकारहरूको भनाइ छ ।

प्रकाशित मिति: २०८३ आश्विन १४, बुधबार १४:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !