मधेश प्रदेशमा ‘युवा नीति’ विषयक परामर्श बैठक सम्पन्न

मधेश प्रदेशमा ‘युवा नीति’ विषयक परामर्श बैठक सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ३, मंगलवार १८:३४
मधेश प्रदेशमा ‘युवा नीति’ विषयक परामर्श बैठक सम्पन्न

जनकपुरधाम : दीर्घ प्रयासपछि मधेश प्रदेशमा पहिलोपटक ‘मधेश प्रदेश युवा नीति तर्जुमा–सम्बन्धी परामर्श कार्यक्रम’ सम्पन्न भएको छ । खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशको आयोजनामा जनकपुरधामस्थित एक होटलमा आयोजित कार्यक्रममा प्रदेशभरिका युवाको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता मन्त्रालयका निमित्त प्रदेश सचिव रञ्जित कुमार यादवले गरेका थिए । कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवाल प्रमुख अतिथि थिए ।

ADVERTISEMENT

मन्त्री जयसवालले युवा नीतिलाई छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै भने, “हामी यस नीतिलाई फास्ट ट्र्याकमार्फत अघि बढाउँछौँ तर सबै जिल्लाका युवाको आवाज समेटिने गरी नै पास हुनेछ ।”

मधेश प्रदेश युवा सञ्जालका अध्यक्ष मोहम्मद नइम राईनले उक्त छलफल कार्यक्रमलाई ‘मधेशका युवाका लागि ऐतिहासिक उपलब्धि’ भने । उनले लामो संघर्षपछि नीति निर्माण प्रक्रियाको थालनी हुनुलाई युवाको आन्दोलन र समर्पणको परिणाम बताउँदै भने, “आजको छलफल हाम्रो निरन्तर संघर्षको परिणाम हो, अब हामी नीति निर्माणमा निर्णायक रूपमा संलग्न हुन्छौँ ।”

कार्यक्रममा नीति तथा योजना आयोग, मधेश प्रदेशका उपाध्यक्ष डा. शोहन साहको पनि सहभागिता थियो । उनले युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने गरी नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिँदै भने, “प्रदेशको अर्थतन्त्र कृषि–केन्द्रित भएकाले युवा नीतिले कृषि रोजगारीलाई प्राथमिकतामा राख्नैपर्छ ।”

कार्यक्रमका सहजकर्ताहरू कृष्ण जिवी घिमिरे (जुरी नेपाल) र गुञ्जन रायले युवा नीतिको प्रारम्भिक रूपरेखा प्रस्तुत गरेका थिए । सहभागी युवा प्रतिनिधिहरूले शिक्षा, रोजगारी, खेलकुद, स्वास्थ्य, कृषि, नेतृत्व, उद्यमशीलता, लैङ्गिक समानता र सामाजिक न्यायलाई नीति निर्माणमा समावेश गर्न सुझाव दिएका थिए ।

कार्यक्रम सञ्चालन मन्त्रालयका महाशाखा प्रमुख परशुराम कार्कीले गरेका थिए । कार्यक्रममा प्रदेशका सरकारी पदाधिकारी, युवा संघसंस्था, सामाजिक अभियन्ता तथा विभिन्न सरोकार समूहका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो ।

प्रकाशित मिति: २०८२ भाद्र ३, मंगलवार १८:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !