दलालको जालोबाट छुटाइयो ४० नेपाली महिला, सुनौली नाकाबाट नेपाल फर्काइयो

दलालको जालोबाट छुटाइयो ४० नेपाली महिला, सुनौली नाकाबाट नेपाल फर्काइयो
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २२, बिहीबार २२:५८
दलालको जालोबाट छुटाइयो ४० नेपाली महिला, सुनौली नाकाबाट नेपाल फर्काइयो

काठमाडौं : भारतको बाटो हुँदै खाडी मुलुक पठाउन लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ। दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को सहकार्यमा ती महिलाहरूलाई उद्धार गरी सुनौली नाकाबाट नेपाल ल्याइएको हो।

ADVERTISEMENT

‘किन इन्डिया’का संस्थापक नवीन जोशीका अनुसार उनीहरूलाई दलालले खाडी मुलुकमा राम्रो तलब सुविधा हुने भन्दै घरेलु कामदारको प्रलोभनमा पारी भारत पुर्‍याइएको थियो। दिल्लीस्थित विभिन्न स्थानमा राखिएका उनीहरूलाई उद्धार गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल फिर्ता गरिएको हो।

“घरेलु कामदारको रूपमा खाडीका पाँच देशमा लैजान लागिएको अवस्थामा दिल्लीबाट उद्धार गरिएको हो,” जोशीले भने, “केही दिनको प्रक्रियापछि सबै महिलाहरूलाई सुनौली नाका हुँदै नेपाल फिर्ता गरियो।”

उनका अनुसार पछिल्लो समय खाडी मुलुकमा घरेलु कामदारका रूपमा पुगेका नेपाली महिलामाथि शारीरिक तथा मानसिक यातना, श्रम शोषण र अलपत्र पर्ने समस्या बढ्दो छ। सोही कारण भारत हुँदै तेस्रो मुलुक जान लागेकाहरूको निगरानी तीव्र बनाइएको छ।

नेपाल सरकारले श्रम समझौता नभएका खाडी मुलुकहरूमा घरेलु कामदारका रूपमा नेपाली महिलाको वैदेशिक रोजगारीमा रोक लगाएको भए पनि दलालहरूको सक्रियताले यो क्रम रोकिएको छैन। मानव तस्करहरूले भारतलाई ट्रान्जिट प्वाइन्ट बनाएर महिलालाई खाडी मुलुक पुर्‍याउने प्रयास भइरहँदा यस्तो उद्धार गरिएको हो।

सरकारी र गैरसरकारी संस्थाहरूले भारतको विभिन्न नाकाबाट हरेक वर्ष सयौं नेपाली महिलाको उद्धार गर्दै आएका छन्। मानव तस्करीको यस्तो श्रृंखला रोक्न अझ प्रभावकारी निगरानी र सीमास्तरमै ठोस कार्यान्वयनको माग उठ्दै आएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार २२:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !