शिक्षामन्त्री रानी र सचिव दिलिपको उदासीनता: हजारौं किशोरी बीमाबाट वञ्चित

शिक्षामन्त्री रानी र सचिव दिलिपको उदासीनता: हजारौं किशोरी बीमाबाट वञ्चित
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ असार १९, बिहीबार ०९:०१
शिक्षामन्त्री रानी र सचिव दिलिपको उदासीनता: हजारौं किशोरी बीमाबाट वञ्चित

जनकपुरधाम : मधेश प्रदेश सरकारको गर्विलो योजना मानिएको ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान शिक्षामन्त्री रानी शर्मा तिवारीको लापरवाहीका कारण संकटमा परेको छ। किशोरी लक्षित यो अभियान अन्तर्गत सञ्चालित शिक्षा बीमा कार्यक्रम चालु आर्थिक वर्षभरि ठप्प रहेको छ।

संघीय सरकारले ५ करोड र प्रदेश सरकारले १० करोड रुपैयाँ विनियोजन गरिसकेको भए पनि कार्यक्रम अघि बढ्न सकेन। शिक्षा विकास निर्देशनालयले बैंकहरूसँग टेन्डर प्रक्रिया अघि बढाए पनि मन्त्रालयको निर्देशन नआउँदा बीमा प्रक्रिया रोकिएको हो।

ADVERTISEMENT

टेन्डर पास, निर्णय रोक

शिक्षा विकास निर्देशक महेन्द्र महतोका अनुसार फागुन महिनामै टेन्डर आह्वान गरेर प्राइम बैंक र ग्लोबल आईएमई बैंकलाई सहभागी गराइएको थियो। तर, उनीहरूले माग गरेको प्रिमियम दर अपेक्षाकृत महँगो देखिएकाले मन्त्री र सचिवको सुझाव मागिएको थियो। महतोले भने, “निर्देशन नआएपछि कार्यक्रम अगाडि बढाउन सकिएन।”

विगतमा यही योजना अन्तर्गत ग्लोबल आईएमई बैंकले प्रतिबीमा करिब ३७ हजार रुपैयाँ प्रिमियममा बीमा गर्दै आएको थियो। तर, यसपालि उक्त दर झन्डै तीनगुना पुगेको देखिएको छ। मन्त्रालयले यसमा पहल नगर्दा मधेशका हजारौँ किशोरी बीमा सुविधा पाउनबाट बञ्चित भएका छन्।

लापरवाहीले निराश किशोरीहरू

‘बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियानअन्तर्गत किशोरी शिक्षा बीमा कार्यक्रम बाहेक अन्य सबै कार्यक्रम रोकिएको अवस्थामा चालु वर्षमा मात्रै ९ हजार ४ सय ६४ जनाले आवेदन दिएका छन्। तर, बीमा रकम खातामा नजाँदा सेवाग्राहीहरू निराश छन्।

फोकल पर्सन प्रियंका यादवका अनुसार अहिले पनि दैनिक २०–२५ जना आवेदन लिएर कार्यालय आउने गरेका छन्।

कार्यक्रम किन ठप्प?

शिक्षा मन्त्रालयका एक कर्मचारी भन्छन्, “विगतमा पनि बैंकहरू सस्तो दरमा बीमा गर्न इच्छुक थिए। तर, अहिले मन्त्री र सचिवको चासो नदेखिँदा कार्यक्रम अवरुद्ध भयो।” उनीहरूका अनुसार बैंकहरूसँग सहमति गर्न सकिने ठाउँ भए पनि इच्छाशक्तिको अभावले योजना धराशायी भएको हो।

‘महिला सशक्तीकरणमा गम्भीर असर’

महिला अधिकारकर्मी शुभद्रा आले भन्छिन्, “यो कार्यक्रमले महिला हिंसा, बालविवाहजस्ता विकृति नियन्त्रणमा ठूलो भूमिका खेलेको थियो। तर, अहिले कार्यक्रम ठप्प हुँदा लक्षित वर्गमा निराशा छाएको छ।”

पूर्वमन्त्री तथा प्रदेश सांसद सुरिता साहले तिवारी नेतृत्वको मन्त्रालयले मठमन्दिर र तालिममा करोडौं बजेट छुट्याएको तर किशोरी लक्षित कार्यक्रम बेवास्ता गरेको आरोप लगाइन्।

राउतको गर्वको योजना, तिवारीका लागि ‘प्राथमिकता बाहिर’

प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान महिला सशक्तीकरणको मेरुदण्ड रहेको बताए। “यो योजनाबाट दाइजो प्रथा, बालविवाहजस्ता विकृति हटाउन सहयोग मिलेको थियो,” उनले भने, “तर, वर्तमान सरकारको बेवास्ताले अभियान खतरामा परेको छ।”

मन्त्री रानी तिवारीले भने बैंकहरूले प्रिमियम महँगो प्रस्ताव गरेकाले योजना अघि बढाउन नसकिएको दाबी गरेकी छन्। तर, शिक्षा विकास निर्देशनालयका अधिकारीहरू भन्छन्— सहमतिमा समाधान खोज्न सकिने थियो।

शून्य बजेट, सुस्त प्रगति

अझ चिन्ताजनक कुरा त के छ भने शिक्षामन्त्री तिवारीले आगामी वर्षका लागि समेत एक रुपैयाँ बजेट विनियोजन गरेकी छैनन्। यस्तोमा लोकप्रिय कार्यक्रमको भविष्य अन्योलमा परेको छ।

विगतमा यही योजनाबाट साइकल, छात्रवृत्ति, सेनेटरी प्याड वितरण र छात्रामैत्री शौचालय निर्माणजस्ता कार्यक्रम चलाइएका थिए। तर, अहिले तिनैमध्ये एकमात्र बाँकी रहेको बीमा कार्यक्रम पनि बन्द छ।

गत आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म कुल १४ हजार ४ सय ५३ जना किशोरीको मात्र शिक्षा बीमा भएको छ। त्यसमा पनि अधिकांश बीमा पहिलेका सरकारले अघि बढाएका हुन्।

प्रकाशित मिति: २०८२ असार १९, बिहीबार ०९:०१
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !