कमलाको किनारबाट तीन इन्जिनियर : विकरु महतो कोइरीका सपना उम्रिए गाउँको माटोमै

कमलाको किनारबाट तीन इन्जिनियर : विकरु महतो कोइरीका सपना उम्रिए गाउँको माटोमै
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ असार ३, मंगलवार २२:२५
कमलाको किनारबाट तीन इन्जिनियर : विकरु महतो कोइरीका सपना उम्रिए गाउँको माटोमै

जनकपुरधाम : धेरैलाई लाग्छ, उज्यालो भविष्यको यात्रा सहरबाट मात्र सुरु हुन्छ। विद्यालयको घण्टी, ट्युसनको भीड, किताबले भरिएका कोठा र जागरूक अभिभावकबाट मात्र सम्भावना अंकुराउँछ भन्ने आम धारणा छ। तर कमला नगरपालिकाको पूर्व-उत्तर छेउ, कमला नदीको किनारमा अवस्थित एक गाउँ – हथमुण्डाले यो सोचलाई उल्ट्याएको छ।

यसै गाउँका किसान विकरु महतो कोइरीका तीन छोराले एकैपटक पूर्ण छात्रवृत्तिमा इन्जिनियरिङ अध्ययनको अवसर पाएका छन्। त्यो पनि सामान्य छात्रवृत्ति होइन – राज्यस्तरीय प्रतिस्पर्धाबाट प्राप्त गरिएको, पूर्ण छात्रवृत्ति।

ADVERTISEMENT

किताब कहिल्यै चिनेका थिएनन् बुबा, तर सपना भने थिए

विकरु महतोले विद्यालयको ढोका कहिल्यै देख्न पाएनन्। बिहान खेत, बेलुका गोरु गास्ने, जीवनभर गोडमेलमै व्यस्त रहेका उनीसँग थियो केवल एक दृढ अठोट – “छोराहरूले कलम समाउन्, माटोको सट्टा भविष्य जोतुन्।”

जहाँ गाउँका अधिकांश अभिभावकहरूले बालबालिकालाई कमाइतिर धकेल्छन्, त्यही परिवेशमा विकरुले कहिल्यै पढाइप्रति सम्झौता गरेनन्।

“बुबाले कहिल्यै ‘पढाइ छाड’ भन्नुभएन,” ठूला छोरा राकेश कुमार महतो सम्झिन्छन्, “हामीले उहाँका चाउरिएका हात र अनुशासनको कठोरता देखेका थियौं। त्यसैले पढाइमा कहिल्यै ढिलाइ गरेनौं।”

इन्जिनियर बन्ने सपना : खेतदेखि किताबसम्मको यात्रा

राकेशले स्नातक तहको सिभिल इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरे। माइलो छोरा सुशान्त सिंह र कान्छा सिरयान्स कुशवाहाले डिप्लोमा तहको सिभिल इन्जिनियरिङमा नाम निकाल्दै राज्यस्तरीय छात्रवृत्ति हात पारे।

तीन जना तीन फरक शैक्षिक संस्थाबाट उही साझा सपनातर्फ अघि बढिरहेका छन् – इन्जिनियर बन्ने, गाउँ फर्कने, र आफूले भोगेका अभाव अरूलाई नदोहोर्याउने।

सपना सहरमा होइन, गाउँको माटोमै अंकुराउँछ

हथमुण्डाका यी तीन भाइको यात्रा सधैँ सजिलो थिएन। संघर्ष, पीडा, अभाव र अथक लगनले भरिएको थियो यो यात्रा। तर जब गाउँमा उनीहरूको सफलताको खबर फैलियो, मानिसहरू अचम्मित भए – “एउटै घरबाट तीनजना इन्जिनियर!”

आज गाउँका शिक्षक, जनप्रतिनिधि र छिमेकीहरू गर्वका साथ भन्छन्, “कमलाको इतिहासमा यस्तो पहिलो पटक भएको हो।”

शिक्षाको पहुँच : समानताको गहिरो बहस

यी तीन भाइको सफलताले फेरि एकपटक शिक्षामा पहुँच र समानताको बहसलाई उजागर गरिदिएको छ। सहरका महँगा विद्यालय मात्र होइन, गाउँमा पनि यदि अवसर प्रदान गरियो भने त्यहाँका बालबालिकाले पनि प्रतिस्पर्धा जित्न सक्छन् भन्ने प्रमाण हो यो।

“हामी पढेपछि गाउँ फर्कने संकल्पमा छौं,” राकेश भन्छन्, “हामीले देखेको अभाव अब अरूले नदेखून्।”

विकरु महतोका आँखा रसाइरहेका छन्

आज विकरु महतोको अनुहारमा गर्व झल्किरहेको छ। उनका जीवनभरका दुःख, पसिना र परिश्रम बर्सातपछि भिजेको जमिनजस्तै रसाइरहेका छन्।

अब सहरका कलेजमा पढ्नेहरूलाई पनि भनिन्छ – “हेर्नुहोस्, खेतको हिलो पनि सम्भावनाको बीउ हुन सक्छ।”

प्रकाशित मिति: २०८२ असार ३, मंगलवार २२:२५
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !