किशोर अधिकार अभियानमा सक्रिय राजन, राष्ट्रिय सञ्जालको केन्द्रीय समितिमा चयन

किशोर अधिकार अभियानमा सक्रिय राजन, राष्ट्रिय सञ्जालको केन्द्रीय समितिमा चयन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ३१, शनिबार १९:२६
किशोर अधिकार अभियानमा सक्रिय राजन, राष्ट्रिय सञ्जालको केन्द्रीय समितिमा चयन

जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिका–८, बिसरभोरा निवासी १७ वर्षीय राजन दास राष्ट्रिय किशोर सञ्जाल नेपालको केन्द्रीय कार्य समितिमा मनोनित भएका छन्। उनी ५६ वर्षीय जोगेन्द्र दास तत्मा र ४६ वर्षीया भुल्लीदेवी दासका छोरा हुन्।

२०७८ साउन १४ गते “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने नारासहित स्थापित राष्ट्रिय किशोर सञ्जाल नेपालमा हाल २३ जना केन्द्रीय सदस्य रहेका छन्। यस सञ्जालले लैङ्गिक हिंसा अन्त्य, लैङ्गिक समानता, जलवायु न्याय, यौन तथा प्रजनन अधिकार र अनलाइन सुरक्षासहितका मुद्दालाई प्राथमिकतामा राख्दै आएको छ।

ADVERTISEMENT

किशोरकिशोरीलाई सशक्त बनाउन सञ्जालले कार्यशाला, प्रशिक्षण, अन्तरक्रिया र वकालत अभियान सञ्चालन गर्दै आएको छ। साथै, सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्दै बाल तथा किशोर अधिकारसँग सम्बन्धित नीति, कानून र राष्ट्रिय योजनाको अनुगमनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। विशेष गरी दुर्गम र सीमान्तकृत समुदायका किशोरकिशोरीलाई प्राथमिकताका साथ समावेश गर्दै आएको सञ्जालले जनाएको छ।

हालै साउन २६–२८ गते गोदावरी, काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय भेलामा सञ्जालका अध्यक्ष युवराज चापागाईं, पूर्वअध्यक्ष घनश्याम विश्वकर्मा, राष्ट्रिय सभा विकास मामिला तथा सुशासन समितिकी सभापति कमला देवी पन्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, राष्ट्रिय बाल अधिकार परिषद्की सदस्यसचिव इन्द्रा देवी दकाललगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए।

सो भेलामा सातै प्रदेशका प्रतिनिधि किशोरकिशोरी सहभागी भएका थिए। सञ्जालले सामाजिक अवरोध तोड्दै किशोरकिशोरीलाई सूचित, सशक्त र भविष्य निर्माणमा सक्रिय बनाउने लक्ष्य लिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ३१, शनिबार १९:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !