‘जनकपुरधामलाई मन्दिर मात्रै होइन, ज्ञानभूमिको रुपमा पनि चिनाऔं’

‘जनकपुरधामलाई मन्दिर मात्रै होइन, ज्ञानभूमिको रुपमा पनि चिनाऔं’
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ९, शुक्रबार २३:२५
‘जनकपुरधामलाई मन्दिर मात्रै होइन, ज्ञानभूमिको रुपमा पनि चिनाऔं’

जनकपुरधाम : विद्यार्थी जनमत संघका केन्द्रीय सदस्य शशिकान्त मण्डलले जनकपुरधामको शिक्षा प्रणाली दिनप्रतिदिन कमजोर बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनले जनकपुरधाममा शिक्षाको स्तर खस्किँदै गएको गुनासो सधैं सुनिए पनि अधिकांशले यसको दोष केवल सरकारलाई दिने प्रवृत्तिप्रति आपत्ति जनाए। “सरकार दोषी त छ नै,” उनले भने, “तर यसमा आम नागरिकको भूमिकालाई पनि बेवास्ता गर्न मिल्दैन।”

ADVERTISEMENT

नेता मण्डलका अनुसार जनकपुर आउने पाहुनालाई सधैं जानकी मन्दिरलगायत धार्मिक स्थल देखाउने, फोटो खिच्ने परिपाटी छ। तर, उनले दुःख व्यक्त गर्दै भने, “अहिलेसम्म कसैले पनि यो भनेको सुनिँदैन कि जनकपुरधाम केवल मन्दिरको सहर होइन, यो त ज्ञानभूमि पनि हो, जहाँ माता सीताको जन्म मात्र होइन, अष्टावक्रजस्ता महाज्ञानी ऋषिको पनि जन्म भएको थियो।”

उनले जनकपुरलाई हामी आफैं कसरी प्रस्तुत गर्छौं भन्ने कुराले पाहुनामा कस्तो छाप बस्छ भन्ने निर्धारण हुने बताए। “हाम्रो पुस्ताले पनि जनकपुरलाई धार्मिक सहरकै रूपमा मात्र चिनेको छ। त्यसैले अधिकांश युवाको आकांक्षा पुजारी, महन्त वा ठेकेदार बन्नेमा सीमित देखिन्छ, शिक्षित र ज्ञानमूलक मार्गमा होइन,” मण्डलले चिन्ता व्यक्त गरे।

उनले आज जनकपुरधाममा राम र सीताको चित्र सर्वत्र देखिए पनि राजर्षि जनक वा अष्टावक्र ऋषिका चित्र कतै नदेखिनु दुःखद भएको बताए। “हामी ज्ञान परम्परालाई बिर्सँदै गएका छौं, र त्यसको असर आजको पुस्तामा प्रत्यक्ष देखिएको छ,” उनले भने।

नेता मण्डलले परिवर्तनको सुरुवात सरकारसँगै आम नागरिक र परिवारबाट पनि हुनुपर्नेमा जोड दिए। “परिवर्तन अरूबाट होइन, आफैंबाट सुरु गरौं। तब मात्र जनकपुरलाई साँच्चिकै ज्ञान र संस्कृतिको केन्द्रको रूपमा पुनःस्थापित गर्न सकिन्छ,” उनले सुझाव दिए।

प्रकाशित मिति: २०८२ श्रावण ९, शुक्रबार २३:२५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !