ग्राहक ठगीमा संलग्न बैंकलाई तुरुन्त कारबाही गरिने : गभर्नर पौडेल

ग्राहक ठगीमा संलग्न बैंकलाई तुरुन्त कारबाही गरिने : गभर्नर पौडेल
मधेशपत्र मधेशपत्र २०८२ असार ३, मंगलवार १३:१२
ग्राहक ठगीमा संलग्न बैंकलाई तुरुन्त कारबाही गरिने : गभर्नर पौडेल

जनकपुरधाम : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहक ठगी गरेमा तत्काल कारबाही गरिने चेतावनी दिएका छन्।

नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयको आयोजनामा उद्योग वाणिज्य महासंघ तथा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग भएको छलफलमा गभर्नर पौडेलले सर्वसाधारणको सम्पत्ति जोगाउन तथा बैंकको सेवा बढीभन्दा बढी नागरिकसम्म पुर्‍याउन आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे।

ADVERTISEMENT

“ग्राहकलाई विभिन्न बहानामा ठगी गर्ने वा समस्यामा पार्ने बैंकलाई कुनै छुट नदिई कारबाही गरिन्छ,” गभर्नर पौडेलले भने।

धनुषाका व्यापारीहरूले धितो राखी ऋण लिएका ग्राहकलाई बैंकले जटिल प्रक्रिया सिर्जना गरी सम्पत्ति लिलामी गरेको गुनासो गरेपछि गभर्नरले यस्तो चेतावनी दिएका हुन्।

छलफलमा सहभागी व्यवसायीहरूले साना व्यापारी र किसानलाई बैंकले बेवास्ता गर्ने गरेको गुनासो गरे। त्यस्तै, बैंक प्रतिनिधिहरूले मधेश प्रदेशमा ऋण लिने तर समयमा फिर्ता गर्न नसक्नेको सङ्ख्या उच्च रहेको जानकारी दिए।

गभर्नर पौडेलले धनी र गरिबबीचको आर्थिक खाडल घटाउनु आफ्नो प्रमुख लक्ष्य रहेको उल्लेख गरे। “मौद्रिक नीति वित्तीय नीतिको मातहतमा हुनुपर्छ। कम नियम, बढी सुपरिवेक्षणमार्फत अर्थतन्त्रलाई गतिशील बनाउनेतर्फ हाम्रो ध्यान छ,” उनले भने।

उनले बैंकको लगानी सीमित धनी वर्गमा मात्र सीमित नरही साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले प्रस्तुत सुझावहरू नीतिगत रूपमा समावेश गरिने बताए।

कार्यक्रममा सहभागी उद्यमीहरूले व्यवसाय सञ्चालनमा भोगेका समस्या, वित्तीय पहुँच र कर्जाको सहजताका विषयमा आफ्ना धारणा राखेका थिए।

प्रकाशित मिति: २०८२ असार ३, मंगलवार १३:१२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !