गरिमा हत्या विरोधमा सिमरामा प्रदर्शन, इलाका प्रहरी कार्यालय घेराउ

गरिमा हत्या विरोधमा सिमरामा प्रदर्शन, इलाका प्रहरी कार्यालय घेराउ
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ४, बिहीबार १४:२७
गरिमा हत्या विरोधमा सिमरामा प्रदर्शन, इलाका प्रहरी कार्यालय घेराउ

बारा : तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा आक्रोशित स्थानीयवासीले बिहीबार पनि प्रदर्शन जारी राखेका छन्। आन्दोलनकारीले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गर्दै घटनामा प्रहरीको लापरबाही भएको आरोप लगाएका छन्।

घटनाको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका ग्रामीण सडकमा समेत टायर बालेर यातायात अवरुद्ध गरिएको छ। सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर तथा पथलैया–सिमरा सडकखण्डमा यातायात प्रभावित भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा समेत बुधबारदेखि यातायात सञ्चालन हुन सकेको छैन।

ADVERTISEMENT

गरिमा हराएकोबारे परिवारले समयमै प्रहरीलाई जानकारी गराए पनि खोजीमा गम्भीरता नदेखाएको स्थानीयको आरोप छ। उनीहरूले इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज डीएसपी दिलीप क्षेत्रीमाथि कारबाहीको माग गरेका छन्।

घटनाको विरोधमा जीतपुरसिमराका निजी तथा सामुदायिक विद्यालयले बिहीबार शोकसभा आयोजना गरी विद्यालय बन्द गरेका छन्। विद्यालयहरूले घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

बारा जिल्ला प्रशासनले आन्दोलनरत पक्षका माग सम्बोधनका लागि छलफल भइरहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बिहीबार नै निर्णायक वार्ताको तयारी भइरहेको बताए।

उनका अनुसार घटनामा संलग्न आरोपी पक्राउ परिसकेका छन् भने प्रहरीको लापरबाहीबारे स्थानीयले उठाएको विषयमा प्रशासनले छानबिन गरिरहेको छ।

प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार १४:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !