मिटरब्याजी अभियोगमा पक्राउ परेका तीन जना पुर्पक्षका लागि कारागार चलान

मिटरब्याजी अभियोगमा पक्राउ परेका तीन जना पुर्पक्षका लागि कारागार चलान
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २९, शुक्रबार १३:०४
मिटरब्याजी अभियोगमा पक्राउ परेका तीन जना पुर्पक्षका लागि कारागार चलान

जनकपुरधाम : मिटरब्याजी अर्थात् अनुचित लेनदेनको आरोपमा पक्राउ परेका एकै परिवारका तीन जनालाई धनुषा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ।

जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरकी ४८ वर्षीया रेखा साह, उनका ३२ वर्षीय छोरा हरेराम साह र ५३ वर्षीय जेठाजु गोपाल साहलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।

ADVERTISEMENT

ठगी (अनुचित लेनदेन) तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा धनुषा प्रहरीले उनीहरूलाई गत १ साउनमा पक्राउ गरेको थियो। बुधबार र बिहीबार भएको थुनछेक बहसपछि इजलास नम्बर ११ की न्यायाधीश हिरामाया अवालको इजलासले तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।

अदालतमा थुनछेक बहस चलिरहेका बेला दुई दिनसम्म मिटरब्याजपीडित र पक्राउ परेकाहरूका पक्षका मानिसहरूले जिल्ला अदालत परिसर अगाडि प्रदर्शनसमेत गरेका थिए। उक्त मुद्दाका जाहेरवालामध्ये नेपाल प्रहरीका पूर्वएसपी गोविन्दकुमार साहसमेत रहेका छन्।

विदेह नगरपालिका–८ बफैँका साहसहितले दिएको जाहेरीका आधारमा प्रहरीले तीनै जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

धनुषा प्रहरीले गोपाल साहको जनकपुरधामस्थित घरबाट ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता तथा अन्य कागजात र एउटा ल्यापटप बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार उनीहरूमाथि अनुचित लेनदेन तथा ठगीसम्बन्धी नौवटा मुद्दा दर्ता भएका छन्। तीमध्ये हालसम्म ६ वटा मुद्दामा सुनुवाइ भएको छ भने बाँकी मुद्दामा सुनुवाइ जारी छ।

अदालतको आदेशअनुसार तीनै जनालाई जलेश्वर कारागार पठाउने प्रक्रिया अघि बढाइएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले जानकारी दिए।

प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार १३:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !