रौतहटमा लालबकैया नदीमा बेपत्ता तीन बालबालिकामध्ये दुईको शव भेटियो

रौतहटमा लालबकैया नदीमा बेपत्ता तीन बालबालिकामध्ये दुईको शव भेटियो
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २७, बुधबार ११:१०
रौतहटमा लालबकैया नदीमा बेपत्ता तीन बालबालिकामध्ये दुईको शव भेटियो

जनकपुर : रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ। एक बालिकाको भने खोजी भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार देवाही गोनाही नगरपालिका–१ करुनियाका १० वर्षीय मोहम्मद रमतुला र सोही स्थानकी १० वर्षीया सबनम खातुनको शव फेला परेको हो।

ADVERTISEMENT

प्रहरीका अनुसार मंगलबार दिउँसो करिब २ बजे लालबकैया नदीमा पौडी खेल्ने क्रममा तीनै जना बालबालिका नदीमा बगेर बेपत्ता भएका थिए।

डीएसपी गौतमका अनुसार मोहम्मदको शव घटनास्थलबाट करिब ५ किलोमिटर दक्षिण र सबनमको शव करिब ५.२ किलोमिटर दक्षिण लालबकैया नदी किनारमा फेला परेको हो।

अस्थायी प्रहरी पोस्ट जिंगडवाबाट प्रहरी सहायक निरीक्षक लालबाबु सहनीको कमान्डमा खटिएको टोलीले दुवै शव फेला पारेको हो। शवको कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमान्डमा थप टोली खटाइएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमध्ये सोही स्थानका सेफ खुर्सिदकी १० वर्षीया छोरी रौशन खातुन अझै फेला परेकी छैनन्। उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको डीएसपी गौतमले जानकारी दिए।

प्रकाशित मिति: २०८३ श्रावण २७, बुधबार ११:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !