तीन महिनादेखि उपकुलपतिविहीन काठमाडौं विश्वविद्यालय, एक साताभित्र नयाँ नेतृत्व आउने तयारी

तीन महिनादेखि उपकुलपतिविहीन काठमाडौं विश्वविद्यालय, एक साताभित्र नयाँ नेतृत्व आउने तयारी
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १७, आईतवार १७:३२
तीन महिनादेखि उपकुलपतिविहीन काठमाडौं विश्वविद्यालय, एक साताभित्र नयाँ नेतृत्व आउने तयारी

काठमाडौं :  विश्वविद्यालय (केयू) तीन महिनादेखि उपकुलपतिविहीन हुँदा विश्वविद्यालयका महत्त्वपूर्ण प्रशासनिक तथा शैक्षिक निर्णय प्रभावित भएका छन्। नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगे पनि नियुक्तिमा भएको ढिलाइका कारण बढुवा, पूर्वाधार विस्तार र दीर्घकालीन योजनाहरू रोकिएको भन्दै प्राध्यापक तथा कर्मचारीहरूले चिन्ता व्यक्त गरेका छन्।

तत्कालीन उपकुलपति अच्युत वाग्ले अध्यादेशमार्फत पदमुक्त भएपछि परीक्षा नियन्त्रक ऋषिकेश वाग्लेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ। दैनिक प्रशासनिक काम नियमित रूपमा सञ्चालन भइरहे पनि दीर्घकालीन निर्णय भने नयाँ नेतृत्व नआएसम्म स्थगित गरिएको विश्वविद्यालय प्रशासनको भनाइ छ।

ADVERTISEMENT

नयाँ उपकुलपति चयनका लागि विश्वविद्यालय सभाले गत जेठ १९ गते शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिले प्राप्त ३५ वटा आवेदन स्वीकृत गरिसकेको छ भने अब तीमध्येबाट १० जनाको छोटो सूची सार्वजनिक गर्ने तयारी गरिएको छ।

समितिका सदस्य तथा पूर्वउपकुलपति सुरेशराज शर्माका अनुसार शिक्षामन्त्रीको व्यस्तता लगायतका कारण प्रक्रिया केही ढिलो भएको हो। शिक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार सोमबारसम्म १० जनाको सूची सार्वजनिक गरिनेछ। त्यसपछि समितिले तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्ने र उनीहरूमध्ये एक जनालाई उपकुलपतिमा नियुक्त गरिनेछ।

नेतृत्व अभावका कारण विश्वविद्यालयका धेरै महत्त्वपूर्ण निर्णय रोकिएका छन्। करिब १५ जना शिक्षक र ८० जना कर्मचारीको बढुवा लिखित परीक्षा तथा अन्तर्वार्ता सम्पन्न भइसके पनि अन्तिम निर्णय हुन सकेको छैन। त्यस्तै, अधिकांश डिनहरू पनि निमित्त जिम्मेवारीमा छन् र स्थायी नियुक्ति नयाँ उपकुलपति आएपछि मात्र गरिने तयारी छ।

निमित्त उपकुलपति ऋषिकेश वाग्लेले दैनिक काममा कुनै अवरोध नभए पनि नयाँ नेतृत्वको कार्ययोजनामा असर नपरोस् भनेर दीर्घकालीन योजना अघि नबढाइएको बताए। उनका अनुसार चार वर्षका लागि आउने उपकुलपतिले आफ्नै योजना कार्यान्वयन गर्न सकून् भन्ने उद्देश्यले नयाँ नीति तथा कार्यक्रम रोकिएको हो।

यसबीच विश्वविद्यालयको शैक्षिक विस्तार योजना पनि प्रभावित भएको छ। अघिल्लो वर्ष १८ प्रतिशतले विद्यार्थी संख्या बढाएको केयूले यस वर्ष ३० प्रतिशत वृद्धि गर्ने लक्ष्य राखेको थियो। तर आवश्यक संरचना र पूर्वाधार विस्तारका निर्णय हुन नसक्दा उक्त लक्ष्य प्रभावित भएको स्कुल अफ आर्ट्सका डिन उद्धव प्याकुरेले बताए।

उनका अनुसार विज्ञान तथा इन्जिनियरिङ संकायमा करिब २० वटा कक्षा कोठा र प्रयोगशाला थप आवश्यक भए पनि निर्माण प्रक्रिया सुरु हुन सकेको छैन। नयाँ उपकुलपति आएपछि मात्र ठेक्का प्रक्रिया अघि बढाइने भएकाले विद्यार्थी व्यवस्थापनमा समेत चुनौती देखिएको छ।

यसैगरी, वार्षिक शुल्क समायोजन, शिक्षक–कर्मचारीको बढेको तलब कार्यान्वयन तथा अन्य नीतिगत निर्णय पनि नेतृत्व अभावकै कारण रोकिएका छन्।

केयू प्राध्यापक संघका अध्यक्ष डा. विकास अधिकारीले सरकारले विश्वविद्यालयलाई तीन महिनासम्म नेतृत्वविहीन राख्नु दुःखद भएको टिप्पणी गरे। उनले विद्यार्थीको नतिजा ४५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिने सरकारले ९० दिनभन्दा बढी समयसम्म उपकुलपति नियुक्त गर्न नसक्नु विडम्बनापूर्ण भएको बताए।

शिक्षा मन्त्रालयका अनुसार सुनसरी र मधेश प्रदेशमा विकसित घटनाका कारण केही दिन प्रक्रिया प्रभावित भए पनि अब नियुक्ति अन्तिम चरणमा पुगेको छ। समितिले सोमबार १० जनाको सूची सार्वजनिक गरी एक साताभित्र नयाँ उपकुलपति नियुक्त गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १७, आईतवार १७:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !